सिएनएनको नजरमा नेपालका ५ जिम्मेवार होटल

काठमाडौं, २१ पुस । नेपाल विदेशी पर्यटकको आकर्षणको रुपमा रहँदै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि नेपालको पर्यटन तथा पर्यटकीय सम्भावना र गन्तव्यका बारेमा समाचार सम्प्रेशण गर्ने गरेका छन् । यही क्रममा अमेरिकी सञ्चारमाध्यम  सिएनएनले नेपालका पाँच जिम्मेवार होटलका बारेमा फिचर प्रकाशन गरेको छ । सिएनएनले नेपाललाई हिमालको स्वर्गको रुपमा परिभाषित गर्दै पाँच जिम्मेवार पर्यटक होटल बारे लेखेको हो । पत्रकार जेनी मार्शले पर्यटकलाई जिम्मेवार भएर सेवा दिने होटल बारे फिचर लेख्नुभएको हो । सिएनएनले नेपालका पाँच जिम्मेवार होटलमा काठमाडौंको द्वारिकाज होटल, ललिपुर पाटनको स्वथा ट्रेडिसनल होम्स, पोखराको द पाभिलिओन्स हिमालय, चितवन मेघौलीको बाराही जंगल लज र भक्तपुरको हेरिटेज होटललाई राखेको छ । गएको वर्ष वैशाखको भूकम्पका कारण युनेस्कोको विश्वसम्पदा सूचिमा रहेका धेरै ऐतिहासिक क्षेत्र प्रभावित भएका कारण सन् २०१५ मा नेपालमा पर्यटकको संख्या ३० प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । तर सन् २०१६ मा भने पर्यटकको संख्या बढेको छ । नेपालको पर्यटन क्षेत्र बिस्तारै उकासिँदै गएको र भूकम्पपछिको पुनर्निर्माणको गति सुस्त भएपनि पर्यटकको संख्या बढ्दै गएको सिएनएनले लेखेको छ ।नेपालको पर्यटनमा जिम्मेवारीको नयाँ संस्करण सुरु गर्न होटल क्षेत्रको भूमिका राम्रो रहेको र त्यही आधारमा पाँच उत्कृष्ट होटल छनौट गरिएको उल्लेख छ ।