स्थानीय तहका लागि बजेट विनियोजन भइसकेको छ : अर्थमन्त्री महरा

रोल्पा, ११ चैत  । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको प्रारम्भिक खर्चका लागि बजेट विनियोजन भइसकेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल रोल्पाको लिबाङमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले स्थानीय तहका लागि बजेट विनियोजन भइसकेको बताउनुभएको हो ।

स्थानीय तहको कार्यान्वयनका लागि प्रारम्भिक पूँजीको रुपमा अहिले सात सय ४४ वटै स्थानीय तहलाई एक÷एक करोड  छुट्याइएको बताउनुभयो । जसमध्ये चालुमा २० प्रतिशत र पूँजीगतमा ८० प्रतिशत हुने उहाँले बताउनुभयो । चालु बजेटबाट कार्यालयको उद्घाटन तथा सञ्चालनका लागि र अन्य पूँजीगत बजेटबाट स्थानीय तहबाट केही विकासका कामहरु गर्न सकिने जनाउनुभयो ।

माओवादी केन्द्रका नेता समेत रहनुभएका अर्थमन्त्री महराले सरकारको अहिलेको मुख्य काम भनेको स्थानीय तहको निर्वाचन गराउने भएकाले सबैलाई निर्वाचनमा लाग्न समेत आग्रह गर्नुभयो ।