नयाँ वर्षसँगै स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष मेरो स्वास्थ्य’ अभियान सुरु

काठमाडौं, १ बैशाख । नयाँ वर्षसँगै स्वास्थ्य मन्त्रालयले नयाँ अभियान सुरु गर्दैछ । ‘मेरो वर्ष मेरो स्वास्थ्य’ नाम दिइएको यो अभियानमा आम जनतालाई पाँच प्रतिवद्धता जनाउन अपील गरिएको छ ।‘मेरो वर्ष अभियान ०७४’ को आज १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नुहुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालाबाट उद्घाटन कार्यक्रम राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानका क्रममा ०७४ सालको अन्तिम दिन अर्थात चैत मसान्तसम्म विभिन्न कार्यक्रम सञ्चालनमा आउनेछ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले अभियान अन्तर्गत पाँच प्रतिवद्धता जनाउन आमजनता माझ अपिल गर्नु भएको छ । म रक्सी, चुरोट तथा सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु ,म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परिक्षण गराउँछु , म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु । विशेषगरी बदलिदो जीवनशैली तथा खानपानका कारण नसर्ने रोगको प्रकोप बढिरहेको बेला स्वस्थ जीवनशैली अपनाउनको लागि पनि यो अभियान सुरु गरिएको मन्त्री थापाले जानकारी दिनुभयो ।