जापान पठाउँछु भन्ने दलाल भागेपछि आफन्त पक्रंदै रकम उठाउन थाले पीडित

काठमाडौं, २२ जेठ । रोजगारीका लागि जापान पठाइदिने भन्दै २१ जनाबाट डेढ करोड रुपैयाँभन्दा बढि ठगेर मुख्य नाइके भागेपछि पीडितले आफन्त पक्रिन थालेका छन् । २१ जना ठग्ने गोवन्द प्रसाद तिवारी भागेपछि ठगीमा संलग्न अन्यलाई पीडितले पक्राउ गर्न थालेका हुन् ।

वाग्लुङकी गीता शर्मालाई आइतबार वैदेशिक रोजगार विभागमा ल्याएर पीडितले रकम फिर्ता लिएका छन् । गीतालाई पोखराबाट पक्राउ गरिएको हो । गोविन्द तिवारीले जापान पठाइदिने भन्दै पीडितबाट उठाएको रकम उनले बुझेकी थिइन् ।

बुटवलकी गौमाया भण्डारीले गीताको खातामा रकम जम्मा गर्नु भएको थियो । जापान जान भन्दै गौमायाले तिरेको ४ लाख ९० हजार रुपैयाँ मध्ये गीताको खातामा ३ लाख २० हजार रुपैयाँ जम्मा गरिदिनु भएको थियो । गीताले आइतबार ३ लाख २० हजार रुपैयाँ फिर्ता गरिन् भने ७० हजार रुपैयाँ हर्जना तिरेर छुटेकी छन् ।

गोविन्दसँगको मिलेमतोमा पैसा बुझेका शुसिल पन्तले  भने यसअघिनै १ लाख ५ हजार रुपैयाँ फिर्ता गरिसकेका छन् । गौमायाको ५५ हजार रुपैयाँ बुझेकी रेखा घिमिरे सम्पर्कमा नरहेको पीडितले बताएका छन् ।

 

२१ जना पीडितले गोविन्दका  १० जना अाफन्तको खातामा रकम जम्मा गरेका छन् । रकम बुझ्ने १० जनाको पहिचान भैसकेको पीडितले बताएका छन् । गोविन्द भागेपछि अब उनीहरुलाई नछाड्ने पीडितको तयारी छ ।

गोविन्दसँगको मिलेमतोमा पोखराकी शर्मिला तिमल्सिनाको २ लाख रुपैयाँ बुझेका भेषविक्रम थापाले पनि मंगलबार पैसा फिर्ता गर्ने बताएका छन् । उनलाई प्रहरी अपराध महाशाखाले झिकाएको छ ।

गोविन्द प्रसाद तिवारीले २१ जनाबाट डेढ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको तथ्य बाहिर आएको छ । आफू स्विस अस्पतालको डाक्टर भएको नक्कली परिचय दिँदै ठगेको पीडितहरुले बताएका छन् ।

दलाल गोविन्दले गोरखाकी अमृता ढकालको ३१ लाख, झापाकी सुमीता राईको २५ लाख, गोरखाकै देविप्रसाद ढकालको ६ लाख २५ हजार र रविन दाहालको ५ लाख, ठमेलका ट्राभल एजेन्सी सञ्चालक जीवन पाण्डेको ४ लाख ५० हजार रुपैयाँ गरी २१ जनाबाट डेढ करोड रुपैयाँ ठगी गरेको प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले जनाएको छ ।

कास्की पुरुन्चौर– ३ स्थायी घर भएका गोविन्द प्रसाद तिवारी भने अहिले जापान लुकेर बसेको प्रहरीले जनाएको छ ।