ओली निवासको वार्ता सकारात्मक

काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका चार नेता र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओली निवास बालकोटमा भएको भेटवार्ता सकारात्मक भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै संसद सुचारु गर्नका लागि छलफलका गर्न कांग्रेस नेताहरु बिमलेन्द्र निधी, ज्ञानेन्द्रबहादुर कार्की र प्रदिप गिरी एमाले अध्यक्ष ओली निवास बालकोट पुग्नु भएको थियो । दुईघण्टा लामो भेटपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै कांग्रेसका नेता निधीले अध्यक्ष ओलीसँग संसदको अबरोध अन्त्य गर्ने बारेमा भएको छलफल सकारात्मक रहेको बताउनुभयो ।

नेता निधीले भन्नुभयो–‘संसद अबरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट आफूहरु एमाले अध्यक्ष ओलीसँग छलफल गर्न आएका हौं । उहाँसँगको कुराकानी सकारात्मक भएको छ ।’

प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकता दिएर प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई  सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको निधीले बताउनुभयो । भेट पछि संचारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन पाए हुन्थ्यो भन्ने कांग्रेस नेताहरुको धारणा रहेको बताउँनुभयो ।

उहाँले यसकै निम्ती छलफल गर्न कांग्रेसका नेताहरु आउनु भएको जानकारी दिँदै भन्नुभयो–‘एमाले सहमतिको बाधक नरहेको मैले बताएँ, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि एमाले सकारात्मक छ ।’

संसदको प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाएपछि र संसद सुचारु गर्न नदिए पछि सहमतिको प्रयास स्वरुप यो भेटवार्ता भएको हो । प्रधानमन्त्री पदका लागि संसद सचिवालयमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।