लमजुङका भूकम्प पीडित किसानलाई ९० प्रतिशत अनुदानमा कृषि उपकरण

लमजुङ, २५ जेठ  ।  जिल्ला कृषि विकास कार्यालय लमजुङले लमजुङका भूकम्प पीडित कृषकलाई अनुदानमा आधुनिक कृषि उपकरण वितरण गरेको छ । कार्यालयका प्रमुख एवम् वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार कार्यालयलेपीडित कृषकहरुलाई ९० प्रतिशत अनुदानमा ५५ वटा मकै छोडाउने मेसिन, २१ वटा सानो हाते ट्रयाक्टर र २४ वटा धान, गहुँ झाँट्ने थ्रेसर मेशिन वितरण गरेको हो ।

लमजुङमा भूकम्प पीडित कृषकहरुको माग अनुसार मेशिन वितरण गरिएको हो । लमजुङमा धान झाँट्ने थ्रेसर मेसिनको माग धेरै छ । अनुदानमा कृषि उपकरण पाएसँगै भूकम्प पीडित कृषकहरु उत्साहित भएका छन् ।

धान, गहुँ झाँट्ने ९० हजार रुपैयाँको थ्रेसर मेशिन ९ हजारमा पाउँदा दोर्दी गाउँपालिकाका हरिप्रसाद अधिकारी खुशी हुनुहुन्थ्यो । उहाँले गाउँमा युवाशक्ति विदेश पलायन भएकोमा चिन्ता व्यक्त गर्दै अब थ्रेसर मेसिनले थोरै जनशक्ति र थोरै समयमा धेरै काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।