सात वर्षपछि रोपाइँ गर्दै रुडीका किसान

बाजुरा, २५ जेठ  । बाजुराको स्वामिकार्तिक गाउँपालिका–१ रुडी गाउँमा सात वर्षपछि पहिलो पटक रोपाइँ गर्ने तयारी भएको छ । स्थानीय बासिन्दाले सात वर्ष अगाडि नहर पहिरोले पुरेपछि रोपाइँ गर्न पाएका थिएनन् ।यो वर्ष गाउँलेकै पहलमा सिंचाई कुला निर्माण गरिएको छ । जिल्ला समन्वय समितिको नेपाल जलवायु सहयोग कार्याक्रमले सहयो गरेपछि स्थानीय बासिन्दाले कुलो निर्माण गरे पछि यो वर्ष धान रोपाइँ हुने भएको हो ।

गाउँलेले दुई सय पाँच मिटर लामो पक्की सिंचाई कुलो निर्माण गरेका छन् । ‘कुलो नहुँदा खडेरीले गहुँ पनि भएन, पक्की कुलो नभएसम्म बगाउने भयो । अहिले सानो सहयोग पाएपछि कुलो बनाएका छौं’ गाउँका चतुरे कार्कीले भन्नुभयो ‘यस वर्ष पक्की कुलो बनाएका छौं पहिराले केही असर पादैन होला ।’

कालिकोटसँग जोडिएको यो गाउँ हरेक वर्ष खडेरीको मारमा पर्ने गरेको छ । धानको बेर्नामा सिंचाई गरिरहेका किसान हस्त धामीले भन्नुभयो ‘गहुँ लगायो भने बिउसम्म जोगिन्थ्यो, धान पटक्कै भएन । यस वर्ष भात खाने आशा गरेका छौं ।’

‘पहिरो गएको पहिलो वर्ष पाईप जोडेर चलायौं, दास्रो वर्ष पूरै बगाएपछि जमिन बाँजो भयो’ मुगा धामीले भन्नुभयो । आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले अहिले जेठमै रोपाइँ गर्ने तयारी गरेका छन् ।