‘साइत’ जुराएर प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सरे

काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा  सरकारी निवास बालुबाटार सर्नुभएको छ । हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्दै आउनुभएका प्रधानमन्त्री देउवा ज्योतिषको साइत अनुसार बिहान ५ बजे नै बालुवाटार सर्नुभएको हो । उहाँ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई ज्योतिषीहरूले निजी निवासबाट सरकारी निवासमा बसाइ सर्ने उपयुक्त ‘साइत’ जुराएका थिए । त्यो साइत अनुसार बिहानै बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार सरकारी निवासको बैठककक्ष, विश्रामकक्ष र भान्साको सामान्य ढङ्गले पुनःनिर्माणका साथै रङरोगन गरिएको छ । प्रधानमन्त्री देउवाका लागि सरकारी निवासमा कुनै नयाँ सामान खरिद गरिएको छैन । पुरानै सामानबाट काम चलाउने भनेपछि त्यसैअनुसार व्यवस्था गरिएको बताइएको छ ।  यसअघि नयाँ प्रधानमन्त्रीका लागि हरेक सरसामान नयाँ खरिद गर्ने प्रचलन थियो ।