असार बित्न लाग्दा तेह्रथुममा ३५ प्रतिशत मात्रै रोपाइँ

तेह्रथुम, २५ असार । स्थानीय चुनाव र आधा असारसम्म लागेको खडेरीले जिल्लामा धान रोपाइँ प्रभावित भएको छ । किसानले असार तेस्रो हप्तासम्म पनि पर्याप्त धान रोप्न सकेका छैनन् । पर्याप्त पानी नपर्दा सिँचाइको समस्या भएको र चुनावका कारण केही दिन अलमल पनि भएकाले धान रोपाइँ ढिलाई भएको किसानले बताएका छन् ।

असार बित्न लाग्दा पनि ३५ प्रतिशत मात्रै रोपाइँ भएकोे वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । ‘मौषम र माटोका आधारमा यहाँ अहिले ६० प्रतिशत बढी रोपाइँ सकिनुपर्थ्यो, तर यसपालि चाहिएको समयमा पानी पनि परेन, चुनावले पनि किसान अलमलिए’ उहाँले भन्नुभयो ।

खडेरी र चुनावले धान रोपाइँ प्रभावित भएको उनले बताउनुभयो । जिल्लाका उच्च तथा लेकाली क्षेत्रमा यतिबेला धान रोपाइँ सकिसक्नु पर्ने थियो । तर अझै पनि पानी अभावले कतिपय खेत बाँझै छन् । बाँकी ७० प्रतिशतमा असारमै रोपाइँ सक्नु त्यहाँका हावापानी र माटो सुहाउँदो हुने कृषि प्राविधिक बताउँछन् ।

तर यसपाली खडेरीका लागि रोपाइँ गर्न समस्या भएको हो । काम गर्ने जनशक्ति अभाव तथा बसाइसराईका कारण जिल्लामा वर्षेनी खेतीयोग्य जमिन बाँझिने क्रम बढेको छ । किसानले केही वर्ष यता धान मासेर अलैंची खेती लगाउने क्रम पनि बढेको छ । जिल्लामा कुल ६ हजार ८ सय ६० हेक्टर जमिन मात्रै धान खेतीका लागि योग्य रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ ।