दूधको उचित बजार नहुँदा किसान मर्कामा

इलाम, २५ असार ।  इलाममा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादित दूधको उचित बजार नहुँदा किसान मारमा परेका छन् । सरकारको प्रभावकारी नीतिको अभावका कारण बजारको व्यवस्था नभएको किसानको गुनासो छ ।

इलामका किसानले दैनिक उत्पादन गरेको ४० हजार लिटर दूध गाउँकै डेरीमा सस्तो मूल्यमा खपत गर्नु परिरहेको किसान गोविन्द थापाले बताउनुभयो । इलाममा दैनिक २२ लाख रुपैयाँ बराबरको दूध उत्पादन हुने गरेको छ । बजारको अभावका कारण किसानले भने आधा मूल्यमा नै चित्त बुझाउनु परिरहेको छ । इलाममा १ सय २८ बढी दुग्ध सहकारी सस्था मार्फत दूध खरिद हुने गरेको छ ।

इलामको पञ्चकन्या, कोल्बुङ, फिक्कल, लक्ष्मीपुर, बरबोटे, माइपोखरी, शान्तिडाँडामा रहेको दुग्ध चिस्यान केन्द्र मार्फत इलामबाट दैनिक दूध विराटनगर जाने गरेको छ । विराटनगर स्थित दुग्ध विकास संस्थानमा जम्मा हुने दूधमध्ये ७२ प्रतिशत दूध इलामले निकासी  गर्दै आएको छ ।

जिल्ला पशु सेवा कार्यालय इलामको तथ्याङ्क अनुसार जिल्लामा ४२ हजार दूध दिने उमेरका गाई पालिएको छ । यस्तै जिल्लामा ३ हजार ६ सय ८८ वटा नस्ल सुधार गरिएका गाई रहेका छन् ।