२३ वर्षे डिल्लीराजको दुबै मृगौला फेल, सहयोगको याचना

खोटाङ, १ साउन । दुबै मृगौला फेल भएका खोटाङका एक मृगौला रोगीले सहयोगको याचना गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका डिल्लीराज राईले दुबै मृगौला काम नलाग्नेगरी बिग्रिएकाले मृगौला प्रत्यारोपणका लागि सहयोगको याचना गरेका हुन् ।

दुबै मृगौला काम नलाग्नेगरी बिग्रिएकाले प्रत्यारोपण गर्न र डायलासिस गराउनका लागि खर्च जुटाउनका लागि सहयोगको याचना गर्नुपरेको पीडितका बुवा धनराज राईले बताउनुभयो ।

डिल्लीराजको डेढ महिनादेखि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । २०५१ सालमा जन्मिएका डिल्लीराजको क्रोनिक रेनल फेलर/इन्ड स्टेज रेनल डिजिज भएको शिक्षण अस्पतालले जनाएको छ । मृगौलाको उपचार पद्धती ज्यादै खर्चिलो भएकाले शुभेच्छुक समक्ष सहयोगको हात फैलाउनु परेको धनराजले बताउनुभयो ।

बनिबुतो गरेर जीवन निर्वाह गर्दैआएका राई परिवारसँग मृगौला प्रत्यारोपण गर्न सक्ने आर्थिक क्षमता छैन । अहिलेसम्म आफन्तले दिएको रकमकै भरमा डिल्लीराज अस्पताल पुगेका हुन् । ‘आफै अस्पताल पुग्ने हैसियत त कहाँ छ र मेरो, ईष्टमित्र दाजुभाईकै सहयोगमा छोरालाई अस्पतालसम्म पु¥याउन सकेको हुँ,’ धनराजले भन्नुभयो ‘शुभेच्छुककै साथ र सहयोग मिल्यो भने मात्र छोराको ज्यान बचाउन सक्छु भन्ने आशा छ ।’

सरकारले मृगौलाको उपचारमा छुट गरे पनि औषधि उपचार, खाना, आवासमा लाग्ने खर्च नभएको स्थानीय च्यास्मीटार माबिका प्रधानाध्यपक दानकुमार राईले बताउनुभयो ।