​श्रम सम्झौताबाट पछि हट्दै जोर्डन

काठमाडौं, २१ भाद्र । श्रम सम्झौताका लागि सहमती जनाएको जोर्डनले फेरि अड्को थापेको छ । गएको असारमा भएको दुई देशका प्रतिनिधिको जोर्डनमा भएको छलफलमा सहमती जनाएको विषयमा समेत जोर्डन पछि हटेको हो ।

कामदारको २४ घण्टे बीमाका विषयमा पुनर्विचार गर्न जोर्डनले पत्र पठाएको छ । यसअघि त्यहाँ काम गर्ने नेपालीको २४ घण्टे बीमा हुने ड्राफ तयार भएको थियो । सहमती भएका विषयमा श्रम सम्झौताका लागि नेपालले ड्राफ पठाएपछि जोर्डनले २४ घण्टे बीमा कार्यान्वयन गर्न नसकिने जनाएको हो । तर फ्रि–भिसा, फ्रि–टिकट कार्यान्वयन गर्न भने जोर्डन सहमत भएको छ ।

जोर्डनमा नेपाली खासगरि घरेलुकाम र गार्मेन्ट उद्योगमा जाने गरेका भएपनि अन्य क्षेत्रमा पनि कार्यरत छन् । श्रम सम्झौताको विषयमा छलफल गर्न असारमा परराष्ट्र, कानून र श्रम तथा रोजगार मन्त्रालयको टोली जोर्डन गएको थियो ।

त्यतिबेलाको सहमती अनुसार नेपाली कामदारले हप्ताको ६ दिन काम गर्ने, आराम गर्ने व्यवस्था मिलाउने, औषधी उपचारको व्यवस्था कम्पनीले नै गर्ने, घरेलुकामदारलाई खान बस्नको व्यवस्था गर्ने र मासिक ३ सय डलर (३० हजार रुपैयाँ) तलव दिने सहमती भएको थियो । जोर्डनले बिमाको विषय परिवर्तन गर्न माग गरेपनि नेपालले सहमती भएको विषय पुर्नविचार गर्न नसकिने जानकारी गराएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन प्रसाद आचार्यले जानकारी दिनुभयो ।

नेपालले श्रम सम्झौता नगरि नेपाली कामदार नपठाउने भनेपछि जोर्डनले अग्रसरता देखाएको थियो । तर दलालले अवैधरुपमा नेपाली कामदार पुर्‍याउन छाडेका छैनन् ।