एमालेलाई भोट नहाल्नुस्, नत्र यसरी पछुताउनुपर्ला’ : मधेशी युवा

अहिले प्रदेश नम्बर दुईलाई चुनाव लागेको छ । त्यसमा पनि राजनीतिक दलहरुलाई झनै लागेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायत दल अहिले चुनावी दौडमा छन् । यी दलमध्ये एमाले मधेसविरोधी पार्टी हो भन्ने कुरा यसअघिका घटनाले देखाइसकेको छ र अहिले कुन मुख लिएर भोट माग्न आएको हो थाहा छैन् । तर, मधेसी जनताले जतिसुकै प्रलोभन र आश्वासन तथा पैसा दिएपनि एमालेलाई भोट हाल्नुहुन्छ भन्ने मेरो विचार हो । किनकि एमाले मधेस विरोधी पार्टी त हो नै साथसाथै आश्वासन मात्रै बाड्ने काम नगर्ने पार्टी पनि हो ।

यसकारण एमालेलाई भोट नदिऔं, नत्र पछुताउनुपर्ला

संविधान संशोधनमा असहयोग, मधेसीलाई तुच्छ अभिव्यक्तिले होच्याउने लगायतका गतिविधिले एमाले मधेसविरोधी हो भन्ने कुरा त प्रमाणित भइसकेको छ । मानौ यो कुरालाई चुनावी माहोलका बेला मधेसी जनताले विर्सन सक्छन् । तर, अहिले जनप्रतिनिधि चुन्ने बेला आएको छ र यसबेला ध्यान दिनु के जरुरी छ भने ५ वर्ष का लागि चुनिने जनप्रतिनिधि काम गर्ने खालको आउनुपर्छ नकी गफ मात्रै दिने । यसअघि सम्पन्न दुई चरणका स्थानीय चुनावमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले काम नगरेपछि अहिले भोट हाल्ने जनता पछुताइरहेका छन् । जस्तो की देशकै राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य निर्वाचित भए । उनी एमाले काठमाडौं जिल्ला कार्यसमितिका सचिव हुन् । उनले चुनाव जित्न १०० दिनमा १०१ काम गरेर महानगरलाई दक्षिण एसियाकै उत्कृष्ट सहर बनाउने आश्वासन जनतालाई दिए । उनको आश्वासनमा विश्वास गर्दै जनताले भोट दिएर जिताए । तर, विद्यासुन्दरले १०० दिनमा एउटा पनि काम गर्न सकेनन् । उल्टै फोहोर व्यवस्थापन गर्न नसकेर महानगरलाई दुर्गन्धित र फोहोरी सहर बनाउने काम गरे । साथसाथै आफ्ना लागि मोबाइल र करोडौंको गाडी किने । तर, काठमाडौंका ज्यानमारा सडकका खाल्डा पुर्न भन्दा बजेट सकिने भन्दै नपुर्ने अडान लिए । यसरी जनताको प्रतिनिधि बनेर आएका विद्यासुन्दरले जनताकै समस्या बुझेनन् ।

अर्काे प्रसंग जोडौ, नाकाबन्दीका बेला भारतको खुब विरोध गरेर केपी ओली राष्ट्रवादी कहलिए । तर, उनी प्रधानमन्त्रीका भारत भ्रमणमा जाँदा हाम्रो देशमाथि किन नाकाबन्दी लगाएको भनेर नरेन्द्र मोदीसँग कुरा राख्ने हिम्मत गरेनन् । जबकी बाहिर विरोध गरेर उनले निकै चर्चा कमाए । तर, दिल्लीमा खुट्टा कमाए । प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा समेत यो विषयमा एक शब्द पनि बोलेनन् ओली । त्यस्तै, प्रधानमन्त्री हुँदा लोडसेडिङ मुक्त देश बनाउने, हावाबाट विजुली निकाल्ने, हिन्द महासागरमा पानी जहाज चलाउने भनेर मिठा मिठा भाषण गरे । जनतालाई लठ्ठै पारे । तर, लोडसेडिङ हटाउने काम माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गर्यो । यसले के देखाउँछ भने एमाले आश्वासन दिने, भ्रम फैलाउने, मिठा मिठा सपना देखाउने पार्टी हो र यस्तै सपना देखाएर जनताको भोट तान्ने काम केही नगर्ने पार्टी हो ।

त्यसकारण मधेसी जनताले अहिले जनप्रतिनिधि छान्दा विवेक पुर्याउनुपर्नेछ । नत्र काठमाडौं महानगरका जनताको जसरी पछुताउनुपर्नेछ । पैसा खर्च गरेर टिकट पाएका एमालेका उम्मेदवारलाई जिताउदा के विकास गर्लान ? यो कुरा पनि मधेसी जनताले सोच्न जरुरी छ । त्यसकारण मधेसी जनताले यी विविध कारणले एमालेलाई भोट दिदा हजार पटक सोच्नुपर्नेछ, अन्यथा पछुताउनुबाहेक अरु कुनै विकल्प बाँकी रहनेछैन् ।

पंकज मिश्रा
सर्लाही