निर्वाचन बिना नै हलीमा याकूब बनिन् सिंगापुरको प्रथम महिला राष्ट्रपति

काठमाडौं, २८ भाद्र । सिंगाापुर संसदकी पूर्व अध्यक्ष हलीमा याकूब देशको पहिलो महिला राष्ट्रपति बन्नुभएको छ ।बुधबार निर्वाचन अधिकारीले एकमात्र योग्य उम्मेदवार भएकाले राष्ट्रपति पदमा याकूबलाई चयन गरिएको बताए । निर्वाचन कार्यालयका अनुसार राष्ट्रपति पदका लागि अन्य चार जनाको उम्मेदवारी परे पनि दुई जना मलाया समुदायका थिएनन्, दुई जनाले योग्यताको प्रमाणपत्र नै बुझाएका थिएनन् ।

बहुसांस्कृतिक देशमा विशिष्टतालाई बलियो बनाउन सिंगापुरको संविधानमा व्यवस्था गरिए अनुसार यस पल्ट राष्ट्रपति मलाया समुदायको हुनुपथ्र्यो । अल्पसंख्यक मलाया समुदायका लगि राष्ट्रपति पद आरक्षित थियो ।

हलीमाले निर्वाचन कार्यालयमा भन्नुभयो, ‘यो एउटा आरक्षित पद हो । तर म अरक्षित राष्ट्रपति होइन । म देशका सबै नागरिकको राष्ट्रपति हुँ ।’

भारतीय मूलकी हलीमा याकुबको जन्म सन् १९५४ मा भएको थियो । उहाँ सिंगापुरको सत्तारुढ दल पिपल्स एक्सन पार्टीकी सदस्य हुनुहुन्छ । उहाँ १४ जनवरी २०१३ मा सिंगापुर संसदको अध्यक्षमा चुनिनु भएको थियो ।