डेंगुको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन डाक्टरको आग्रह

काठमाडौं, २५ असोज । डेंगु रोगको प्रकोप फैलिरहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १७ जिल्लामा डेंगुको संक्रमण देखिएको छ र यो अझै फैलने अवस्थामा छ ।

अझै १०/१२ दिन डेंगु रोगको जोखिम उच्च रहेको महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनुभयो । पानी परेका कारण सडक लगायत घर आसपासमा जमेको खाल्डाखुल्डीका कारण लामखुट्टे सक्रिय भएकाले संक्रमणको खतरा भएको उहाँले बताउनुभयो ।

पछिल्लो १० महिना यता दुई सय ५५ जनालाई डेंगु भएको सरकारी तथ्याङ्क छ ।  सर्लाहीमा डेंगुका बिरामी धेरै भेटिएका छन् । त्यहाँ अहिलेसम्म एक सय ७ जनालाई डेंगु भएको महाशाखाको तथ्याङ्क छ । यस्तै महोत्तरीमा ८० भन्दा बढीलाई डेंगु भएको छ ।

यस्तै भक्तपुर, गोरखा, बाग्लुङ, धादिङ, चितवन, रुपन्देही लगायतका जिल्लामा पनि डेंगु भेटिएको छ । डेंगु रोगको जोखिम भएका केही जिल्लामा किटको अभाव हुँदा उपचार प्रभावित हुने भएको छ ।