आयु के कारण कति घट्छ र कसरी बढाउन सकिन्छ ?

काठमाडौं, २८ असोज । हरेक वर्ष शिक्षामा गरिने खर्चले मानिसको जीवनमा ११ महिना आयु थप हुने वैज्ञानिकले बताएका छन् । हरेक एक किलो मोटोपनले मानिसको जीवनको दुई महिना आयु घट्ने अनुसन्धानकर्ताले बताएका छन् । यस्तै दिनको एक प्याकेट चुरोट पिउने व्यक्तिको आयु सात वर्ष कम हुने पनि अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । बेलायतको एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताले विभिन्न व्यक्तिका जेनेटिक कोड (वंशाणुगत संहिता) वा डिएनएको अध्ययनबाट यस्तो पत्तालगाएका हुन् । यो अध्ययनले मानिसलाई स्वस्थ जीवन जिउन र आयु लामो बनाउन सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् । ६ लाख भन्दा बढी मानिसको जेनेटिक कोड वा डिएनए यो अनुसन्धानमा प्रयोग भएको छ । धुम्रपान, रक्सी सेवान, विद्यालय शिक्षा पूरा नगर्नु वा मोटोपन मानव स्वास्थ्य र स्वस्थ जीवनका लागि घातक देखिएको अनुसन्धानमा संलग्न डा. पिटर जोशीले बताउनुभयो । एकै व्यक्तिमा धुम्रपान, रक्सी सेवान, विद्यालय शिक्षा पूरा नभएको र मोटोपन पनि भएमा स्वस्थ जीवनको कारक यो नै हो भनेर यकिन गर्न कठिन हुने पनि देखिएको छ । मोटोपन नियन्त्रण गर्ने, धुम्रपान कम गर्दै लैजानले, रक्सी सेवन कम गर्ने तथा शिक्षा प्राप्ती वा शिक्षा सम्बन्धी गतिविधिमा बढी समय बिताउने हो भने स्वस्थ जीवन प्राप्त गर्न सकिने र आयु पनि लामो हुने अनुसन्धानले देखाएको छ । यस सम्बन्धी अनुसन्धान प्रतिवेदन नेचर कम्युनिकेशनस् जर्नलमा प्रकाशित भएको छ ।