Logo

वैदेशिक रोजगार कल्याणकारी कोषलाई प्रभावकारी बनाउनुपर्नेमा जोड



काठमाडौं, २९ असोज । वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउनुपर्नेमा काठमाडौंमा भएको कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलन अन्तर्गत ‘आप्रवासी कामदार कल्याणकारी कोष र यसको प्रभावकारिता’ विषयक छलफलका सहभागीले कल्याणकारी कोषको क्षेत्र र दायरा बिस्तार गर्दै यसलाई कामदारको हितमा प्रयोग गर्नुपर्ने सुझाव दिए ।

कल्याणकारी कोषमा कामदारले मात्रै रकम जम्मा गर्नुपर्ने अहिलेको व्यवस्थालाई परिवर्तन गरी कोषमा निश्चित रकम सरकारले पनि राखिदिने व्यवस्था गर्न आवश्यक रहेकामा छलफलमा सहभागीले जोड दिए । कल्याणकारी कोषमा  चार अर्ब रुपैयाँभन्दा धेरै जम्मा भएपनि त्यसलाई पूर्णरुपमा कामदारको हितमा प्रयोग गर्न नसकिएकाले कोष सञ्चालन सम्बन्धी नियमावली परिवर्तन गरेर भए पनि कामदारमैत्री बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।

वैदेशिक रोजगारीमा गएकाले पठाएको विपे्रषणले मुलुकको अर्थतन्त्रमा मेरुदण्डका रुपमा काम गरिरहेको अवस्थामा पैसा पठाउने कामदारको हकहितमा भने सरकार गम्भीर नरहेको उनीहरुको आरोप छ । कार्यक्रममा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कल्याणकारी कोषलाई कामदारमैत्री बनाउन गत साउन १६ गते वैदेशिक रोजगार नियमावली, २०६४ संशोधन गरी वैदेशिक रोजगारीका क्रममा कामदारको मृत्यु भएमा वा अङगभङग भएमा बोर्डले दिने राहत रकम बढाएर तीन लाखबाट  सात लाख रुपैयाँ पु¥याएको बताउनुभयो ।

कामदारको मृत्यु भएमा वा अङगभङग भएमा यसबाहेक बीमा कम्पनीबाट बीमा बापत बढीमा २० लाख पाउने व्यवस्था रहेको र बोर्डबाटसात लाख गरी कामदार वा उनीहरुका परिवारले  २७ लाख रुपैयाँसम्म पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । विदेशमा विभिन्न कारणले जेलजीवन बिताइरहेका नेपालीहरुलाई निःशुल्क कानुनी सहायता प्रदान गर्न विदेशमा रहेका नेपाली नियोगलाई बोर्डमार्फत रकम दिने व्यवस्था मिलाइएको, करार अवधि सकिएको कामदारका हकमा समेत उसको मृत्यु भएमा बोर्डकै रकममा उसको शव नेपाल ल्याउन सक्ने नयाँ व्यवस्था गरिएको कार्यकारी निर्देशक काफ्लेले बताउनुभयो ।

एनआरएनए, वैदेशिक रोजगार आप्रवासी कामदार कल्याणकारी समितिका अध्यक्ष धरम केसीले समिति मार्फत आफूहरुले कामदारको समस्या समाधान गर्न देश, विदेशमा विविध काम गरिरहेको बताउनुभयो । पछिल्लो नौ महिनामा समितिमा १५ जना समस्यामा परेका कामदारले उजुरी दिएको र तीमध्ये धेरै समाधान भइसकेको बताउनुभयो ।

कामदारले विदेशबाट पठाएको रकम अनुत्पादक क्षेत्रमा खर्च नहोस भनेर सञ्चयकोषसँगको सहकार्यमा कामदारको निश्चित रकम कोषमा जम्मा गर्न सक्ने व्यवस्था अन्तिम चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले वैदेशिक रोजगारीमा जाने नेपालीले भनेअनुसारको काम र तलब नपाउने, काम गर्ने कार्यक्षेत्र र बस्ने ठाउँ अव्यवस्थित हुने, महिलामाथि शारीरिक शोषण हुने, कामदारले कम तलब पाउने समस्या देखिएको बताउनुभयो ।

कामदार विदेश जानु अघि नै उनीहरुलाई दिइने अभिमुखीकरण प्रभावकारी बनाउन सकेमा सडक दुर्घटना, भाषालगायत धेरै समस्या समाधान गर्न सकिने सुझाव दिनुभयो ।वैदेशिक रोजगार विज्ञ डाक्टर गणेश गुरुङले वैदेशिक रोजगारीबाट एक दिनमा एक अर्ब ६५ करोड रुपैयाँ विप्रेषणका रुपमा नेपाल भित्रिने गरेको तथ्यांक प्रस्तुत गर्दै त्यही अनुसार कामदारको हितमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्