नेपाली राजनितीक दल भाले कि पोथी: लिङ्गं कसरी चिन्ने ? : विश्लेषण

पुरञ्जन आचार्य, राजनितीक बिश्लेषक

२१ औँ शताब्दीको विश्वमा विगतका प्रचलित मान्यताअनुरूप कुनै पनि पार्टीको ‘जात’ छुट्याउन गाह्रो हुन्छ । यहाँ जात भन्नाले वैचारिक पहिचानलाई भन्न खोजिएको हो । यो समस्या विश्वव्यापी भए पनि नेपालमा गहिरोरूपमा कुन पार्टी वामपन्थी हो र कुन पार्टी दक्षिणपन्थी हो भनी ठ्याक्कै भन्न सजिलो छैन । अझ गठबन्धन संस्कृतिमा त पश्चिमा विचारकहरूले निर्माण गरेको ‘धार र वाद’बाट नेपाल जस्तो देशमा दलहरूको चरित्र चित्रण गर्न असम्भव नै छ । नेपाल अहिले त्यही अवस्थामा छ।

 नेपाली कांग्रेस मध्यमार्गबाट देब्रे ढल्केको दल थियो विगतमा । समाजवाद पनि बोकेको थियो यसले । समाजवाद कांग्रेसको कागज, कलम, विधान र संविधानमा छ, व्यवहारमा छैन । न कांग्रेस पार्टीमा समाजवाद बाँकी छ, न कांग्रेसीहरूमा समाजवादी चरित्र बाँकी छ । त्यस्तै नेपालका कम्युनिस्टहरू ‘सेन्टरबाट फार लेफ्ट र एक्स्ट्रिम लेफ्ट’ थिए विगतमा । नेपालका कम्युनिस्टहरूले त अहिलेसम्म किन कम्युनिस्ट नामको ट्याग झुन्ड्याएका छन्, अनुसन्धान र अध्ययनको विषय भएको छ । वास्तवमा सबै राजनीतिक दलहरू नेपालमा अहिलेको विश्वव्यापी चलनअनुरूप आफूलाई ढालेका छन्, रूपान्तरित भएका छन् । यस अर्थमा नेपालका दलहरू लचिलो छन् र समय सापेक्ष सुधार गर्न सकेकै कारण जनताबीच सम्भवतः टिकेका पनि छन्।

दक्षिणपन्थीहरू कुनै पनि क्रान्ति वा परिवर्तनका लागि डराउँछन् र सधैँ इतिहासको गौरवगान गरिबस्छन् । जस्तो, नेपालका दक्षिणपन्थीहरू नेपाल एकीकरणको र केही परिवारको भजन गाएर बस्न रुचाउँछन् । राष्ट्रवाद, उग्रराष्ट्रवाद र नश्लवादमा विश्वास गर्छन् । अल्पसंख्यक, दलित र आदिवासीको सुरक्षा र संरक्षणप्रति ती अनुदार हुन्छन् । धर्मलाई राजनीतिसँग जोड्न खोज्छन् ।

अहिले एमाले र माओवादी केन्द्रले गरेको वामगठबन्धन र निकट भविष्यमा गर्ने भनिएको वाम एकीकरणको खुबै चर्चा छ राजनीतिक वृत्तमा । वाम गठबन्धनको यो नयाँ प्रस्थानविन्दुको आरम्भले सम्पूर्ण नेपाली समाज मात्र होइन देशको भूराजनीति पनि प्रभावित भएको मानिँदै छ । स्वाभाविक छ यस्तो चर्चा हुँदा गठबन्धन गर्ने दलहरू कति वामविचारका छन् र वाम विचार आफैँ पनि २१ औँ शताब्दीसम्म आइपुुग्दा कस्तो छ भन्ने प्रश्न उठ्छ नै।

 वामगठबन्धनले अधिनायकतर्फको यात्रा गर्छ भन्ने मान्यता नेपाली कांग्रेसको छ । र वामगठबन्धनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा दक्षिणपन्थीहरूसँग चुनावी गठबन्धन हुँदै छ । वामगठबन्धनलाई रोकेर कम्युनिस्ट अधिनाककवादतर्फ जान नदिने कांग्रेस नेतृत्वको गठबन्धनलाई दक्षिणपन्थी गठबन्धन भन्नुपर्ने अनेकन् कारण छन् । त्यसो भए के नेपाली कांग्रेस जो आजसम्म कामजमै भए पनि सेन्टरबाट देब्रेतिर थियो, अब दक्षिणपन्थी पार्टी हुने भयो त?

अठारौँ शदाब्दीको उत्तरार्धमा फ्रान्समा राजतन्त्रविरुद्ध भएको राज्यक्रान्तिलाई सम्बोधन गर्न तत्कालीन राजाले बोलाएको बैठकमा देब्रेपट्टि बस्नेहरूलाई ‘लेफ्टिस्ट अर्थात् परिवर्तकारी’ र दायाँपट्टि बस्नेहरूलाई ‘राइटिस्ट अर्थात् यथास्थितिवादी’ भनियो । यथास्थितिवादीहरू कुलिन, पादरी र सम्भ्रान्तहरू थिए जो पुरानै व्यवस्थालाई निरन्तरता दिन चाहन्थे । फ्रान्सको राज्यक्रान्ति र त्यसपछि विकसित भएका अनेकन् वैचारिक धारहरूका कारण नेपालमा नेपाली कांग्रेस र नेपालका सबै कम्यनिस्टहरू वामपन्थी भए राणाशासन, राजतन्त्र र सम्पूर्ण नेपाली राज्य तिनताका दक्षिणपन्थी थियो । तर राजनीतिक परिवर्तनका लागि भएका अनेकन् कालखण्डका आन्दोलनहरूले गर्दा भन्नैपर्ने हुन्छ, सबैभन्दा ठूलो वामपन्थी कांग्रेस भएको छ । किनभने सबै यथास्थितिवादलाई परिवर्तन गर्ने नेतृत्व यही पार्टीको नेताको नेतृत्वमा भएको हो।

 बिपी कोइरालाले नेपाली कांग्रेसलाई वैचारिक आधारभूमि तयार गर्दा नेपाली समाजका सबै पक्षलाई परिवर्तन गर्नुछ भनी आफूलाई र कांग्रेसलाई समेत वामपन्थी र समाजवादी भनेका होलान् । अहिलेका कांग्रेसजनलाई बिपीका विचार, अन्तर्राष्ट्रिय परिवेश र दलहरूको राष्ट्रिय पहिचान निर्माणमा खासै ध्यान छैन । तर पनि बिपीले भनेको स्मरण गर्नु यतिखेर जरुरी छ । बिपी ‘म माक्र्सवादी हुँ’ भन्न पनि हिच्किचाउनु हुन्नथ्यो । जबसम्म समाजमा आर्थिक विषमता र असमानता रहन्छ मलाई माक्र्सवादले आकर्षण गर्छ भनी बिपी भन्नुहुन्थ्यो । बिपी कम्युनिस्ट हुनुहुन्थेन, वामपन्थी भने हुनुहुन्थ्यो । त्यस्तै कम्युनिस्ट नेता मनमोहन अधिकारी कम्युनिस्ट भए पनि लोकतन्त्रको विकल्प छैन भनी उनले कैयन् पटक भने ।
नेपालको राजनीतिमा र खासगरी यताको तीन दशकमा वामपन्थी र लोकतान्त्रिक धारबीच वैचारिक भिन्नता छैन भन्दा पनि हुन्छ । यी दुईबीच वैचारिक भिन्नता यसकारण पनि छैन कि दुवै धार व्यक्तिको स्वतन्त्रता र सरकार अर्थात् राज्य निर्माणको लोकतान्त्रिक विधि, सिद्धान्त र प्रक्रियामा सहमत छन्, एकै ठाउँमा छन् । अझ आर्थिक विकासका लागि अपनाइने औजार पनि सबै वामपन्थी र लोकतन्त्रवादीहरूको समान नै छ । दलहरूबीच अनेकन् असहमति भए पनि नेपालको राज्य कस्तो बनाउने भन्ने सम्झौतामा सहमति भएरै ०४६ र ०६२ का आन्दोलन भएका थिए । यी दुवै राजनीतिक विचारधारा बोक्ने दलहरूको वैधानिकता र विश्वसनीयता मूलतः यही दुई आन्दोलनमा छ । यद्यपि बिपी कोइरालाको नेतृत्वमा भएको ००७ सालको क्रान्तिको वैचारिक भूमिमा नै नेपालमा त्यसपछिका जनआन्दोलन, जनयुद्ध र अनेकन् आन्दोलन भएका हुन्।

झन्डै सात दशकको अनेकन् आरोह–अवरोहपछि नेपाली जनताले संविधानसभामार्फत नेपालको संविधान निर्माण गरेका छन् । हाम्रो संविधान थोमस हब्स, जाँन लक, रुसो, बिपी, पुष्पलाललगायतले कल्पना गरेको ‘सोसिअल कन्ट्रयाक्ट थ्योरी’ जस्तै हो । यो संविधान लोकतन्त्र र सामाजिक न्यायको आधारभूमि हो भनी मान्न सकिन्छ । समाजवादउन्मुख नेपाली समाज निर्माण गर्ने सपना यसले बोकेको छ । राजनीतिशास्त्रको सिद्धान्तमा ग्रिक र जर्मन, दार्शनिकदेखि मैकेबेलीलगायत कार्ल माक्र्ससम्मलाई चित्त बुझाउन सक्ने सम्झौताको दस्तावेज नेपालको संविधान हो।

नेपालको संविधान कार्ल माक्सले कल्पना गरेजस्तो सर्वहाराको अधिनायकत्वमा निर्माण हुने राज्य जस्तो किमार्थ पनि छैन । वर्तमान संविधानले निर्माण गर्ने सरकार जाँन लकको शब्दमा ‘जुन सरकार बन्छ त्यो नागरिकको सहमतिमा बन्छ, वैधानिक हुन्छ र शासित हुनेले सहमति दिएको हुन्छ ।’ सरकारको संवैधानिकता संविधानभित्र रहन्छ । राज्य संवैधानिकता र सहमति विपरीत गएमा त्यसलाई ‘रिजेक्ट र रिभोल्ट’ गर्ने अधिकार नागरिकसँग सुरक्षित रहन्छ नै ।
वामगठबन्धनबाट निःसन्देह नेपाली कांग्रेसभित्र फेरि एकपटक नयाँ अधिनायकवादसँग लड्नुपर्ने चुनौती आएको स्वीकारोक्ति छ, निर्वाचनमार्फत । वामहरूले पनि निर्वाचन जित्न गरेको गठबन्धनको तिकडमले सैद्धान्तिक बहसमा उत्रेर लोकतान्त्रिक परीक्षणबाट गुज्रनुपर्ला भनी सोचेका थिएनन् होला । प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाले भर्खरै पोखरामा नेपाली कांग्रेस वामगठबन्धनको अधिनायकवादतर्फको यात्राविरुद्ध लड्न सक्छ र कांग्रेसको गौरवशाली इतिहासबाट त्यो शिक्षा लिन वामहरू तयार हुनुपर्छ भनी उद्घोष गरे।

 कांग्रेसका नेता र समर्थक, शुभेच्छुकहरू आसन्न निर्वाचनको संघारमा नजानिँदो किसिमले आफ्नो इतिहास र वैचारिक यात्रालाई बिर्सेर दक्षिणपन्थी झुकावतर्फ बढेको भान हुन्छ । नेपाली कांग्रेसलाई ठेलेर दक्षिणपन्थतर्फ पु¥याउने उद्यममा यही दलका केही नेता, राजधानीका पुराना भारदारहरू र केही कम्युनिस्टहरू लागिपरेका छन् । यो खतरनाक ‘ट्रापबाट’ जोगिन नसके कांग्रेसको भविष्य खतरामा छ । तसर्थ कांग्रेसको भविष्य वामगठबन्धनले समाप्त हुने होइन, यो पार्टीले लिने वैचारिक धारले तय गर्ने कुरामा कुनै शंका अब रहेन । देशलाई वामपन्थी र दक्षिणपन्थी विचारधारामा धु्रवीकृत गर्ने सम्भावना भइरहँदा यिनको न्यूनतम पहिचान के होला ? हेरौँ।

माथि भनियो, व्यक्तिको स्वतन्त्रता र सरकार निर्माणको लोकतान्त्रिक प्रक्रिया र विधि वामपन्थी र दक्षिणपन्थी दुवैले दक्षिण एसियामा धेरै पहिलेदेखि स्वीकारेको हो । त्यसैले उदारवादी, समाजवादी, लोकतन्त्रवादी यहाँसम्म कि कम्युनिस्टहरूले समेत आफूलाई वामपन्थी भन्न रुचाउँछन्, यो क्षेत्रमा । परिवर्तनकारी र उदारवादी नै वामपन्थीको पहिचान भएको हो दक्षिण एसियामा । तर पनि व्यवहारमा कसरी दुवैबीच फरक छ भन्ने प्रश्न सजिलो छैन ।
धर्मलाई राज्यबाट पृथक् राख्ने, सामाजिक समानताको उद्देश्यबाट प्रेरित राजनीतिक दर्शन, केन्द्रीय योजनाबाट विकास निर्माण गर्ने, विकास योजना र देशको अर्थनीतिमा आवश्यक हस्तक्षेप सरकारले गर्ने, कल्याणकारी राज्यको सपना बाँड्ने, केही हदसम्म देशको उत्पादनलाई संरक्षण गरी स्वतन्त्र व्यापारमा हस्तक्षेपकारी भूमिका खेल्ने, मृत्युदण्डको विराध गर्ने र नयाँ अवधारणामा समान लिंगबीच विवाहलाई मान्यता दिने, गर्भपतनको कानुनी मान्यता र आप्रवासीमा उदार नीति नै वामपन्थको विशिष्ट र मौलिक पहिचान भएको छ आज । अब दक्षिणपन्थीलाई पनि व्यवहारमा बुझ्न गाह्रंो भए पनि केही चरित्र तिनका यस्ता छन् :

दक्षिणपन्थीहरू कुनै पनि क्रान्ति वा परिवर्तनका लागि डराउँछन् र सधैँ इतिहासको गौरवगान गरिबस्छन् । जस्तो, नेपालका दक्षिणपन्थीहरूले नेपाल एकीकरणको र केही परिवारको भजन गाएर बस्न रुचाउँछन् र राज्य त्यहीअनुरूप निर्माण गर्न लागिपर्छन् । राष्ट्रवाद, उग्रराष्ट्रवाद, र नश्लवादमा ती विश्वास गर्छन् । परम्परादेखि चलिआएको सामाजिक मान्यताहरूलाई स्वीकार्छन् र सामाजिक सुधारलाई रोक्छन् । उदारवादी अर्थव्यवस्थामा आउने सामाजिक असमानतालाई प्रतिस्पर्धा गर्न नसक्नेहरू पछाडि पर्छन् भनी तिरस्कार गर्छन् । अनि त्यस्तै अल्पसंख्यक, दलित र आदिवासीको सुरक्षा र संरक्षणप्रति ती अनुदार हुन्छन् । धर्मलाई राजनीतिसँग जोड्न खोज्छन् । कर प्रणालीमा उदारभाव, निजी क्षेत्रलाई उदात्त सहयोग, राज्यको भूमिकाको सीमितता र कुनै पनि किसिमको आप्रवासी नीतिको विरोध । मोटामोटी यिनै हुन् दक्षिणपन्थका चरित्र।

अब माथिको वामपन्थी र दक्षिणपन्थी मान्यताहरूको कसीमा हेर्दा नेपालमा कुनै पनि दलको चरित्र प्रस्ट छैन । नेपालमा मात्र होइन, विश्वमै यी मान्यताहरू हिजोआज खप्टिएर आउँछन् र दलहरूको पहिचान गर्न कठिन हुन्छ । नेपालमै राष्ट्रवादलाई दक्षिणपन्थी सोच भन्ने हो भने अहिलेको वामगठबन्धनलाई दक्षिणपन्थी भन्न सकिन्छ । अनि अल्पसंख्यक र आदिवासीलाई सम्बोधन गर्ने सम्बन्धमा एमालेको व्यवहार हेरी दक्षिणपन्थी भन्न गाह्रो छैन । फेरि कैयन् यस्ता वामपन्थी विचार छन् जुन लोकतन्त्रवादी र वामपन्थी दुवैको साझा प्रयासबाट नेपालको संविधानमा व्यवस्था गरिएको छ । अझ मृत्युदण्डलाई हटाउन त नेपालको नागरिक समाजले दबाब दिएर सम्भव भएको हो । भुटानी शरणार्थीलाई स्वागत गर्ने काममा नेपालका कुनै दलले कुनै कञ्जुस्याइँ गरेनन्, तर यही अवस्था मधेसीहरूसँग भने छैन।

अब केही निष्कर्ष निकाल्न सकिन्छ, नेपालका दलहरूबारे । त्यो निष्कर्ष के हो भने नेपालका सबै दल समय अनुकूल र समाजको आवश्यकताअनुसार आफूलाई त्यो ढाँचामा ढाल्न सक्षम छन् । कम्युनिस्टहरू रिपब्लिकन हुन स्वाभाविक हो तर नेपालमा गणतन्त्र ल्याउन कांग्रेसका नेता गिरिजाप्रसादको नेतृत्व चाहियो । कसरी यो सम्भव भयो ? यस्तो तब मात्र सम्भव हुन्छ, जब समाजको दबाब पर्छ नेताहरूलाई । र, त्यही भयो । नेपालका कम्युनिस्टहरूको पनि सैद्धान्तिक र वैचारिक पहिचान लचिलो भएको छ । दलहरूको पहिचान भविष्यमा अझै विकृत र कुरूप हुनेछ नेपालमा । यस्तो किन पनि हुँदै छ भने नेपालको संविधानले गठबन्धन संस्कृतिलाई प्रवद्र्धन गरेको छ।

नेपालको संविधानले समाजवादउन्मुख राष्ट्र बनाउने भनी परिकल्पना गरेको छ । यी कल्पनाकारहरू सबै नै यस अर्थमा वाम हुन् । कांग्रेस र कम्युनिस्ट दुवैलाई ठूलो समस्या के छ भने यी नेपालको सरकारी र सत्तावादी पार्टी भएका छन् । यी दुवै दलमा समाजवादी विचारको अभाव भएकाले नोकरशाही र विदेशीले निर्माण गरेको सरकारी नीति र कार्यक्रमलाई नै समाजवाद हो भनी भन्न रुचाउँछ।

समाजवाद समाजशास्त्र बुझेर आउँछ न कि निर्वाचन र उदार पुँजीवादी कार्यक्रमबाट । कांग्रेस र कम्युनिस्ट दुवैले बुझ्न नसकेको के हो भने समाजवादी बन्न यसको नेतृत्वमा पनि मध्यम जातिका शीर्षस्थ नेताहरू चाहिन्छ । किसान, दलित, मधेसी, आदिवासी, जनजाति, महिला सबैको सहभागिता दल र देशको नीति निर्माणमा आवश्यक हुन्छ । ब्राह्मणवादले भरिएको केन्द्रीय नेतृत्व वर्गले समाजवादको यात्रा किमार्थ गर्दैन । समाजवाद मात्र नहुने होइन, बिस्तारै निर्वाचनमा उच्च पहाडी जातिबाहेक अन्य समूहबाट उम्मेदवार पनि भएनन् भनी एउटै जातिमात्र उम्मेदवार बन्नलायक देखिन्छ । अनि त्यस्तो उम्मेदवार आफ्नै कुल, वंश र परिवारभन्दा बाहिरबाट पाउन छाड्छन्, यिनको चश्माले।

समाजवादी दलको मूल मूल्यपद्धति जाति, धर्म, भेषभूषामुक्त समाज हो । बाह्रै महिना सरकारी लबेदा सुरुवाल लगाएर बस्नेले समाजवादको कुरा गर्न सुहाँउदैन । भूमिमा काम गर्ने मजदुरको मुद्दा, भूमिको संरचनागत परिवर्तन, पुँजीको न्यायपूर्ण सामाजिक वितरण र स्थानीय सरकारलाई स्वराजतर्फको यात्राले मात्र संविधानले कल्पना गरेको समाजवादउन्मुख समृद्धशाली नेपाल निर्माण सम्भव छ।

वाम र गैरवाममा भावी निर्वाचन धु्रवीकृत हुँदै छ । नेपालका कम्युनिस्टहरूलाई वामपन्थी बनाउने काम नेपाली कांग्रेसको सहकार्यबाट भएको हो । अचम्मै छ, तिनै वाम अहिले उत्तरपन्थी अधिनायकवादतर्फ लम्केका छन् भनी फेरि कांग्रेस लोकतन्त्र रक्षा गरौँ भनी कराउँदै छ देशभरि । निश्चय नै व्यक्तिको स्वतन्त्रता, सुरक्षा र सम्पत्तिको मुद्दा अझै पनि मानव सभ्यताको प्रमुख विषय हो । यसर्थ, भावी निर्वाचन परिणाम रोचक मात्र होइन, नेपालको सन्दर्भमा ऐतिहासिक नै होला जस्तो छ। नागरिक दैनिकबाट साभार ।