बुढिगण्डकी जलविद्युत आयोजना निर्माणमा सरकारले बनायो स्रोतको खाका

काठमाडौं ३ पुष । सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाकार तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तिय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको जनाईएको छ ।

स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तिय स्रोतको खाका तयार पारिएको समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको भनाई छ ।
प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्ष भित्रै करिव २ सय ७० देखि ३ सय ६७ अरव लगानी गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिएको छ । समितिका संयोजक वाग्लेले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानी जुटाउने पर्याप्त आधार रहेको पनि स्पष्ट पारे ।

समितिले यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन टयाक्सलाई मुख्य स्रोतको रुपमा लिएको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान तथा अन्य विमा कम्पनीहरु, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।