सप्तरीका सहिद परिवारलाई मधेशी एसोसिएसन इन अमेरिका (मा) द्धारा सहयोग प्रदान

राजविराज, ११ पुस । मधेशी एसोसिएसन इन अमेरिका (मा) ले सप्तरीको मलेठ घटनामा सहादत प्राप्त गर्नु भएका वीर सहिदको परिवारलाई नगद हस्तान्तरण गरेका छन् । पुस ८ गते शनिवार राजविराजको होटल स्टारमा आयोजित एक भव्य कार्यक्रमका बीच मधेशी एसोसिएसन इन अमेरिका (मा)का केन्द्रिय महासचिव संगित रौनियारले सहिदका परिवारलाई चेक हस्तान्तरण गर्नु भएको हो ।


मधेशी एसोसिएसन इन अमेरिका (मा) का केन्द्रिय महासचिव संगित रौनियारको सभापतित्वमा भएको सम्मान कार्यक्रममा राजपा नेपालका अध्यक्ष तथा धनुषा ३ का नवनिर्वाचित प्रतिनिधी सभा सदस्य राजेन्द्र महतोको प्रमुख आतिथ्य तथा संघिय समाजवादी फोरम नेपालका सप्तरी जिल्लाबाट नवनिर्वाचित प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।


मधेशी एसोसिएसन इन अमेरिका (मा) ले सप्तरीको मलेठमा प्रहरीद्धारा मारिएका ५ सहिदका परिवारलाई जनही १÷१ लाख दिने पूर्व घोषणा अनुसार प्रत्येक सहिद परिवारका सदस्यहरुलाई १ लाखको चेक हस्तान्तरण गरेका थिए ।
सो अवसरमा राजपा नेपालका नेता राजेन्द्र महतोले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । त्यस्तै राजपा नेपाल र फोरम बाट सप्तरी जिल्लाको विभिन्न स्थानीय तह, प्रदेश सभा र प्रतिनिधी सभामा निर्वाचित हुनु भएका सांसद, प्रदेश सांसद, मेयर, उप मेयर, गाँउपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका फुलमाला र गम्छा ओढाएर शुभ कामना समेत दिएका थिए ।
सो अवसरमा महतोले, सहिदको बलिदानीलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै समाजका हरेक पक्षले सहिद परिवारलाई सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले प्रदेश २ मा बन्ने सरकारले मधेशी सहिद परिवारलाई विशेष सम्मान गर्ने समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा राजनीतिकर्मी तथा समाजसेवी उम्देश्वर साहले आफु जुनसुकै पार्टीमा रहेपनि मधेशी जनताको हकअधिकार प्राप्तीको लडाईमा मधेशी जनताको साथमा रहेको स्पष्ट पार्दै अगामी दिनमा पनि मधेशी जनताको अधिकार प्राप्तीको लडाईमा तन मन र धनले समर्पित हुने बताउनु भयो ।


कार्यक्रममा विभिन्न वक्ताहरुले मधेशी एसोसिएसन इन अमेरिका (मा)ले मधेशी जनताको लागि छोटो समयमा गरेको योगदानको प्रसंसा गरेका थिए । वक्ताहरुले बाढी पहिरो, आगलागि आदि दुर्घटनाको बेला मधेशी एसोसिएसन इन अमेरिका (मा)ले गरेको सहयोग अतुलनीय रहेको बताउनु भयो । वक्ताहरुले सम्पूर्ण सप्तरीबासीको तर्फबाट मधेशी एसोसिएसन इन अमेरिका (मा)का पुरै टिमलाई शुभ कामना र बधाई पनि दिनु भयो । उहाँहरुले अगामि दिनमा यस्तै मानवीय उद्धारको कार्यमा निरन्तरता दिन आग्रहत समेत गर्नुभयो ।
कार्यक्रममा मधेशी एसोसिएसन इन अमेरिका (मा) केन्द्रिय महासचिव संगित रौनियारले धन्यवाद ज्ञापन गर्दै मधेशी जनताको हरेक दुःख सुखमा साथ रहेको प्रतिबद्धता व्यक्त गर्दै हामी विश्वको जुनसुकै कुनामा रहे पनि मधेश र नेपाल प्रतिको मायाले समाजका लागि केही गर्न प्रेरित गरी रहेको बताउनु भयो । उहाँले अगामि दिनमा पनि सक्ने जति निरन्तर सहयोग जारी राख्ने बताउनु भयो ।
मधेशी एसोसिएसन इन अमेरिका (मा) अमेरिकामा रहेका मधेशी समुदायको छाता संगठन हो । विगत छोटो समयमा मधेशी एसोसिएसन इन अमेरिका (मा) अमेरिकामा रहेका विभिन्न राज्यहरुमा च्याप्टर खोलेर नेपालमा विभिन्न सामाजिक उतरदायित्वका कामहरु गर्दै आई रहेका छन् ।