खुशीको खबर लोडसेडिङ्ग नहुनेः विद्युत् खरिद सम्झौता नवीकरण

काठमाडौं, १३ पुस । नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्गबीच बुधबार भारतको नयाँ दिल्लीस्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो । कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिनुभएको छ । प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारीबीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विषयमा छलफल भएको थियो । ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रशारणलाइनबाट आयात भइरहेको १४५ मेगावाट बिजुलीको सम्झौता यही पुस १६ गतेदेखि सकिँदैछ । भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ ।