शीतलहरका कारण बारामा अहिलेसम्म ४ को मृत्यु

निजगढ, २८ पुस । शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।
बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक÷एकको मृत्यु भएको छ । विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी दिनुभयो । सोमबार बेलुकी सिम्रौनगढ–८ कचोर्वाका ६० वर्षिय अनसिकराय यादब, बारागढी–१ पिपरा बसतपुरका ७० वर्षिय लक्ष्मण मिश्र र आईतबार प्रसौनी गाँउपालिकाका १४ वर्षिय अमरराज कुशवाहाको मृत्यु भएको थियो ।अनसिक धार्मिक कार्यक्रमबाट प्रसाद खाएर घर फर्किने क्रममा मृत्यु भएको उहाँका दाजु बौवालाल यादवले जानकारी दिनुभएको छ । प्रसौनी–२ का कृष्णप्रसाद कुश्वाहका १४ वर्षिय छोरा अमरराज कुश्वाहको क्रिकेट खेलिरहेको अवस्थामा मृत्यु भएको हो । आईतबार बेलुकी ५ बजे क्रिकेट खेल्ने क्रममा अचेत भएका कुश्वाहको खेलमैदानमा नै मृत्यु भएको शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बाराले जनाएको छ ।यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदावारले भने जाडोबाट मृत्यु भएको आधिकारिक जानकारी नभएको प्रतिकृया दिनुभएको छ ।