Logo

रौतहटमा चिसोका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो, मुसहर र दलित न्यानो कपडाको आशमा



गौर, २८ पुस । शीतलहरका कारण रौतहटमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ। बुधबार राति मात्रै रौतहटको परोहा नगरपालिका ७ रामपुरखापका ६० वर्षीय रामलगन प्रसाद पटेल, गौर नगरपालिका ४ टिकुलियाका ७० वर्षीया सियादेवी र गढीमाई नगरपालिका ७ धनाडी टोलका भिक्षु हजामको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरी प्रमुख यज्ञ विनोद पोखरेलले जानकारी दिए।

केही दिनअघि परोहा नगरपालिका वडा नम्वर २ जिगडवाका ४५ वर्षीय शेख समिम, वडा नं ९ का ७० वर्षीया नसिरुल्लाह खातुन, ६५ वर्षीया मरठिया देवी कुर्मी, राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका ६४ वर्षका अकलप्रसाद सिंह, गढीमाई नगरपालिका वडा नम्बर १ समनपुरमा सञ्चालनमा रहेको इँटा उद्योगका मजदुर सर्लाही रामवन घर भएका ५५ वर्षीय नेक महम्मद अलि, गढीमाई नगरपालिका वडा नम्बर ४ सुन्दरपुरका ५५ वर्षका महर्जन ठाकुर हजाम, गुजरा ७ प्रतापुर पल्टुवाकी फूलकुमारी देवी, दुर्गाभगवती ८ बडहर्वाकी सकली देवीको चिसोका कारण मृत्यु भएको थियो।

जिल्लाका सबै भेगमा दुई सातादेखि बाक्लो हुस्सु र शीतलहर चलेको छ। अत्यधिक चिसोका कारण रौतहटमा दुई सातादेखि विद्यालयहरु बन्द रहेका छन्। दलित बस्तीका बालबालिका र सुत्केरी महिला बढी पीडामा छन्।

चिसोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला दैवी प्रकोप उद्धार समितिले विभिन्न स्थानहरुमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरेको जनाएको छ।

बालबालिका, वृद्ध, दीर्घरोगीहरु चिसोले बढी सताइएका छन्। दलित तथा गरिब बस्तीहरुमा ओड्ने ओछ्याउने कपडाको अभाव छ।
साभारः नेपाल लाइभ

प्रतिक्रिया दिनुहोस्