६०र४० को आधारमा मुख्यमन्त्री र उपमन्त्री चयन गर्ने बाम गठबन्धन कार्यसमितिको निर्णय

काठमाडौं, २८ पुस । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनको गृहकार्य गर्न गठित नेकपा एमाले र माओवादी केन्द्रका नेता सम्मिलित वाम गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि ४ आधार तय गरेको छ।

शुक्रबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेदवार तय गर्न प्रारम्भिक छलफल गर्दै यस्तो आधार तय गरेको हो।

कार्यदलका केही सदस्य काठमाडौं बाहिर र अस्वस्थ रहेकाले विस्तृत छलफल नभए पनि राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदको सभामुख पद कसरी बाँड्ने भन्ने आधार तय गरेको नेम्वाङले बताए।

एमाले र माओवादीका ३/३ जना नेता रहेको कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँटका लागि एकता संयोजन समितिले जिम्मेवारी दिएको छ।

कार्यदलको संयोजन गरिरहेका एमाले नेता नेम्वाङका अनुसार सिट बाँडफाँटमा प्रदेशगत रुपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाइनेछ।

‘स्थानीय तह र प्रदेशसभा चुनावको नतिजालाई पनि पदविभाजनको आधार मानिने नेम्वाङले बताए। उनले भने, ‘पार्टी एकताको भावना प्रतिकुल नहुनेगरी, एउटै पार्टी हुँदैछौं भन्ने भावना अनुसार सिट बाँडफाँट गर्छौं।’

राष्ट्रियसभा निर्वाचनको उम्मेदवार दर्ता माघ १० मा रहेकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लाग्ने नेम्वाङले बताए।

‘पहिलो बैठक भएको र समान्य छलफल भएकाले अर्को बैठकले सिट बाड्ने ठोस आधार तयार गर्नेछ,’ उनले भने।

राष्ट्रियसभाका ५६ सिटमा वाम गठबन्धनले साझा उम्मेदवार उठाउनेछ। स्रोतका अनुसार राष्ट्रियसभामा समग्रमा ६०/४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना छ।

मुख्यमन्त्रीमा पनि सहमति

सोही कार्यदलले भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ।

मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि ४ वटा आधारलाई मुख्य मानिने नेता नेम्वाङले जनाएका छन्।

‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ, व्यक्ति हेरेर पनि बाँडफाँट हुन्छ,’ नेम्वाङले भने, ‘यसले यति पाउने भन्ने मात्र आधार छैन।’

तीन नेता अनुपस्थित

कार्यदल बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुन अन्नत र नेकपा एमालेका सुरेन्द्र पाण्डे र शंकर पोखरेल उपस्थित भएनन्। पोखरेल र पाण्डे उपत्यका बाहिर रहेको र पुन अस्वस्थ रहेकाले बैठकमा उपस्थित हुन नसकेको नेम्वाङले बताए। बैठकमा माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा वादल र मातृका यादव उपस्थित थिए।
साभारः नेपाल लाइभ