Logo

जो जिउँदै जलाइन्छन्…….निकालिन्छन्



काठमाडौं, १ फागुन । सिन्धुपाल्चोककी अञ्जु श्रेष्ठको मानसपटलमा ६ असोज २०७३ को त्यो घटना अझै घुमिरहन्छ। भुल्ने कोशिष त गर्छिन्, तर कसै गरेपनि त्यो घटना भुल्न सक्दिनन्। सँगै जीवन जिउने कसमका साथ घर भित्र्याइएकी उनलाई आफ्नै श्रीमानले पेट्रोल खन्याएर आगो लगाइदिएको घटना उनले बिर्सुन् पनि कसरी?

पेट्रोल खन्याइएको शरीरमा आगो लगाएपछि पोलिएर उनी सख्त घाइते भइन्। अनुहारमा त त्यति धेरै टाटा बस्न पाएन। तर, शरीरमा चाहिँ पोलिएका घाउका टाटैटाटा छन्। ती टाटाहरु मफलरले छोपेर लुकाउने गरेकी छन्। भन्छिन् ‘म जस्तो दुःख अरुलाई भोग्न नपरोस्। जसले भोगेको छ, चुप लागेर नबस्नुस्। अपराधीलाई सजाय दिलाउनको लागि खुलेर आउनुस्।’

काठमाडौँकी अन्जना कार्की (नाम परिवर्तन) राम्रै परिवारमा हुर्किइन्। बाबुआमाको चाहना विपरित उनले भागेर विवाह गरिन्। तर केही वर्षपछि थाहा पाइन्, आफ्नै एक साथीसँगपनि श्रीमान्को सम्बन्ध रहेछ। सपिङका लागि जाँदा श्रीमान्लाई ती साथीसँग देखिन्। त्यो दृष्य देखेपछि उनी छाँगाबाट खसेजस्तै भइन्।

उनले श्रीमान्लाई ‘जिउँदै जलेर मर्छु’ भन्ने धम्की दिइन्। साँच्चिकै रिसको आवेगमा आफैंलाई जलाइन् पनि। मर्न चाहन्थिन्। तर उनी बाँचिन्। उनलाई परिवारले स्वीकार्न सकेन। आफ्नै माइतीले पनि उनलाई स्वीकार गरेन्। उनी अहिले ‘साथी महिला सेन्टर’ मा बस्छिन् । र, ‘इन्टेरियर डिजाइनिङ’ को तालिम लिँदैछिन् ।

सप्तरीकी सीता साह (नाम परिवर्तन) २० वर्षकी भइन्। २ वर्षअघि १८ वर्षको उमेरमा विहे भयो। दाइजो नल्याएको निहुँमा विहेको एक वर्षपछि परिवारले यातना दिन थाले। जिउँदै जलाउन खोजियो। बाँच्न त बाँचिन्। तर, उनको शरीरमा घाउका खाटा अझै देखिन्छन्। शरीरका घाउ भन्दा मनका घाउ गहिरा छन्।

यी त प्रतिनिधिमूलक घटनामात्र हुन्। दाइजो नल्याएको निहुँमा, प्रेम–विवाह र यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा, जग्गा–जमिन र सम्पत्ति सम्बन्धि विवादका कारण, सन्तानको रुपमा छोरा जन्माउन नसकेको र बोक्सीको आरोपमा महिलाहरु जिउँदै जलाइने गरेका छन्। समाज आधुनिकतातिर प्रवेश गर्दैछ भन्छौं हामी। तर, यस्ता पाशविक घटना भने अझै हुँदैछन्।

अग्निहिंसामा परेकाहरुले शारीरिक कुरुपताको शिकार त हुनु परेको छ नै, ज्यान समेत गुमाएका घटना बग्रेल्ती छन्। लामो समय अस्पतालमा बसेर निको भएर आउँदा पनि समाज तथा परिवारले उनीहरुप्रति राम्रो व्यवहार गर्ने गरेका छैनन्। यसै कारण कतिपय पीडितहरु मानसिक आघातको शिकारसमेत हुन पुगेका छन्।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वमा हुने दुर्घटनामध्ये ४ लाख ७० हजार घटनाहरु अग्निहिंसासँग जोडिएका छन्। सो प्रतिवेदनले नेपालमा ग्रामीण क्षेत्रमा हुने दुर्घटनाका घाइतेहरुमध्ये अग्नि जलनबाट घाइते हुनेको संख्या दोस्रो नम्बरमा रहेको बताएको छ। प्रतिवेदनले भनेको छ, ‘यस्ता घटनाका घाइतेमध्ये ५ प्रतिशतको मृत्यु हुने गरेको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २००८–०९ को प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष ५५ हजार ९ सय दुई जना अग्निहिंसाबाट पीडित हुने गरेका छन्। प्रत्येक दिन १ सय ५३, प्रत्येक घण्टा ६ जना र प्रत्येक १० मिनेटमा १ जना आगलागीको शिकार हुने गरेका छन्। यो तथ्याङ्कले देखाउँछ, अग्निहिंसाको मार कति धेरै रहेछ।

शिक्षण अस्पतालको २०७३ को तथ्याङ्क अनुसार शिक्षण अस्पतालमा आगोसँग सम्बन्धित ७८ जना विरामी आए, जसमा महिलाहरुको संख्या ४६ वटा र पुरुषको संख्या ३२ जना थियो।

सन् २०१० को जनवरीदेखि हालसम्म २ सय ४९ भन्दा बढी व्यक्ति अग्निहिंसाबाट पीडित बनेको तथ्याङ्कहरुले देखाएका छन्। तिनमा १ सय ७९ जना महिला र बालबालिका छन्। यी मध्ये ५५ प्रतिशतले अग्नि घटनाबाट सिर्जित गहिरो घाउको कारण आफ्नो ज्यान गुमाएका छन्। तर, पीडितहरुले आफूमाथि यस्तो अत्याचार हुँदापनि बताउन सक्दैनन्।

शिक्षण अस्पतालका ‘बर्न विभाग’ का प्रमुख डा. ईश्वर लोहनी भन्छन्, ‘अग्निहिंसा पीडितले घटनाबारे खुलेर घटनाको सत्यतथ्य बताउन सक्दैनन्। उनीहरुले घटनाबारे दिएका जानकारी र घाउको चेकजाँच गर्दा देखिने तथ्य फरक भेटिन्छ। यस्ता घटना पुलिस केसमा जाने र पारिवारिक रुपमा झन् पीडित हुने भयले महिलाहरुले यस्ता घटना लुकाउने गरेका छन्।’

अग्नि हिंसा पीडितका पक्षमा वकालत गर्दे आएको संस्था ‘बर्न भ्वाइलेन्स सर्भभाइभरर्स’ की अध्यक्ष सुलक्षणा राणा आफ्नो संस्थाले अग्निहिंसा पीडितका पक्षमा काम गरिरहेको बताउँछिन्। उनी भन्छिन्, ‘आगोसँग सम्बन्धित दुर्घटनाको उपचारको उपचार महंगो छ। कम्तिमा सरकारले सरकारले मेडिकल सर्जरीमा अनि उपचारमा छुट गराइदियो भने विरामीहरुलाई धेरै राहत मिल्नेछ।’ साभारः नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्