Logo

जनयुद्ध स्वीकार्न तयार भएका ओली आज पेरिस डाँडामा किन गएन ?



काठमाडौं, १ फागुन । माओवादीले मंगलबार देशभर २३ औं जनयुद्ध दिवस मनायो । यसैक्रममा पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई पनि निम्त्याइएको थियो, तर एमाले नेताले माओवादीको निम्तो मानेनन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति थियो । देशका प्रमुख १० शहरमा वाइसीएलको पहलमा जनयुद्ध दिवस आयोजना गरिएको थियो ।

पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी पार्टी एकताको सन्दर्भ निकाल्दै एमालेले जनयुद्ध स्वीकार गरेको बताए ।

तर, जनयुद्ध स्वीकार गर्न तयार भएको भनिएका एमालेका नेताहरु भने जनयुद्ध दिवसमा आयोजना गरिरहेको कार्यक्रममा देखिएनन् ।

जनयुद्ध दिवस मनाउन वाइसीएलले माघ १८ गते नै तयारी गरेको थियो । उक्त बैठकले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो दिने निर्णय समेत गरेको थियो ।

तर, विशेष कारणबस भन्दै कार्यक्रम आयोजक वाइसीएल नेपालले केपी ओलीलाई निमन्त्रणा गरेन । केपी ओलीको सट्टामा वाइसीएलले एमाले उपाध्यक्ष वामदेव गौतमलाई निमन्त्रणा पठायो । तर, मंगलबार आयोजित कार्यक्रममा एमालेका कुनै नेता उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस्