Logo

नेपाली सेनाले देशभर सेना दिवस मनाए, सैनिक मञ्चमा कौशलकला प्रर्दशन



काठमाडौं, १ फागुन । नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाएको छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायतका कार्यक्रम गरिएको छ । सेना दिवसको खुसियालीमा आज साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो ।संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म झण्डै १ लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्