Logo

भारतीय नेता विजय जोलीद्धारा प्रधानमन्त्री ओलीको प्रसंशाः नेपालमा विकास र समृद्धिमा कायापलट गर्ने विश्वास व्यक्त



काठमाडौं, २९ फागुन । नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले भने, ‘एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ, म यही मञ्चबाट भन्न चाहन्छु कि आगामी दिनमा अझै धेरै सहयोग रहन्छ ।’ भारत सधैं नेपाललाई सशक्त र समृद्ध भएको हेर्न चाहने उनको भनाई थियो । जोलीले भने, ‘भारत सदैव सशक्त नेपाल, समृद्ध नेपाल, विकसित नेपाल र शान्तिप्रिय नेपालको पक्षधर छ, हाम्रो प्रधानमन्त्री मोदीजीको पनि यही चाहना हो ।’

उनले ओली नेतृत्वको वर्तमान सरकार आगामी ५ वर्षको लागि गठन भएकोले यसले नेपालको समग्र विकास, शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थायित्वको लागि काम गर्न सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो आशा छ, यस जनादेश अनुसार अब नेपालमा राजनीतिक स्थायित्व हाँसिल भएर आर्थिक समृद्धि हुन्छ, ओली नेतृत्वको सरकारले नेपालमा विकास र समृद्धिमा कायापलट गर्छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिको लागि ओली सरकारसँग मिलेर काम गर्ने उनको विश्वास थियो ।

साक्षात्कारमा उनले आफूले पहिलोपटक काठमाडौं बाहिरको भ्रमण गरेको उल्लेख गर्दै भने, ‘मलाई पहिलोपटक काठमाडौं बाहिर पश्चिम नेपाल जाने अवसर मिल्यो, पश्चिम नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएको छ, सुनौली, भैरहवा, बुटवल, वालिङ, पोखरा यी सबैलाई जोड्ने सिद्धार्थ हाईवेले जोड्छ, जुन १९६४ मा भारत सरकारको सहयोगमा निर्माण सुरु भएर १९७१ मा सम्पन्न भएको थियो, यो १८१ किलोमिटरको लामो हाईवे बनेको हो ।’

प्रतिक्रिया दिनुहोस्