Logo

भारतमा रहेका नेपाली प्रवासीहरुद्वारा पार्टी एकताको विरोध, एकता भए हाम्रो अपमान



काठमाडौं २०,चैत्र । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला भारतस्थित प्रवासी संगठनहरुले भने चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

नयाँ पार्टीको प्रवासमा पार्टी संगठन नरहने किसिमले एकता प्रक्रियाअघि बढेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट संगठनले एकता प्रक्रियामा सहभागी नहुने बताएका हुन् ।

भारतमा माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्च र एमाले निकट प्रवासी नेपाली संघको ठूलो संगठन रहेको छ ।

‘जनयुद्धमा हतियार व्यवस्थापनदेखि नेता र कार्यकर्ता उत्पादनसम्म हामीले त्यति योगदान दियौं, हरेक जनआन्दोलन र संघर्षमा हाम्रो निर्णायक भूमिका रह्यो’ एकता मञ्च निकट एक केन्द्रीय नेताले पत्रकारसँग भने, ‘तर, अहिले भने प्रवासमा पार्टी संगठन नै नरहने किसिमले एकता हुने भएको छ । यो हाम्रो अपमान हो, हाम्रो योगदानको उपहास हो ।’

भारतमा पार्टी कमिटी नरहने निर्णयबाट सबैभन्दा ठूलो असर दशकौंदेखि पार्टीमा काम गर्दै आएका पूर्णकालीन कार्यकर्तालाई पर्ने छ । ‘४० वर्षदेखिका होलटाईमर कार्यकर्ताको बिजोग हुने देखियो’ केन्द्रीय सदस्य, ‘न अब जागिर पाउँछन, न त दबाई मूलोको सहयोग’ बिडम्बना त के छ भने अहिले एकीकृत पार्टीको घोषणा ९ अप्रिलमा हुन खोजेको छ । २००६ सालमा यही दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतमा नै भएको थियो । पार्टीले यसरी इतिहास अवमूल्यन गरेपछि एकतामा जानुको अर्थ नभएको गुनासो अधिकांशले व्यक्त गरिरहेका छन ।

भारतमा रहेका नेपालीहरु संगठित सबैभन्दा ठूलो संगठनका रुपमा समेत रहेको एकता मञ्चले माओवादी जनयुद्ध र अन्य समयमा निर्णायक भुमिका खेल्दै आएको भएपनि पार्टीले त्यसको कदर नगरेको उनको भनाइ थियो । यसअघि पनि माओवादीले आफ्नो केन्द्रीय नेतृत्वको पुनःसंरचना गर्ने क्रममा प्रवासलाई उपेक्षा गर्र्दै आएको एक अर्का नेताले बताए ।

पछिल्ला दिनहरुमा नेपालबाट खाडी र पूर्वी एशियाका देशहरुमा जाने कामदारको सख्यामा बृद्धि भएपनि माओवादी र मशालको संगठनलाई यो स्थानमा ल्याइपुर्याउन भारतमा रहेको एकता मञ्चको मुख्य र निर्णायक भूमिका रहेको देखिन्छ ।

प्रवासी नेपाली संघभित्र समेत पार्टी एकतामा नजाने र बेग्लै प्रवासी संगठनको रुपमा निरन्तरता दिने विषय छलफलमा रहेको छ । प्रवासी नेपाली संघका एकजना केन्द्रीय पदाधिकारी सदस्यका अनुसार, नेकपा एमालेले प्रवासी नेपाली संघका भूमिकालाई पछिल्ला दिनमा उपेक्षा गरेको र अहिले पार्टी एकता प्रक्रियामा प्रवासमा पार्टी संगठन नै नरहने किसिमले अघि बढेकोले असन्तुष्टि बढेको हो ।

पार्टी एकता प्रक्रियामा प्रवासमा पार्टी संगठन नरहने अवस्थामा प्रवासमा रहेका लाखौं पार्टी समर्थकहरुको राजनीतिक जीवनमा नै असर पर्ने ठम्याई दुबे संगठनको छ । जनवर्गीय संगठनको रुपमा मात्रै भूमिका निर्वाह गर्दा लामो समय संगठनमा पार्टीको नीति अनुरुप सक्रिय रहेपनि स्वदेशमा फर्किंदा त्यसले राजनीतिक जीवनलाई नै शून्यमा पुर्याउने उनीहरुको दावी छ ।

जनयुद्दकालिन समयमा नेकपा माओवादी केन्द्रका सबैजसो शीर्ष नेतृत्व प्रवास संगठनकै संरक्षणमा रहेका थिए । माओवादी आन्दोलनमा धेरै शीर्ष नेतृत्व कुनै बेला भारतस्थित प्रवासी संगठनमा काम गरेका छन् ।
पार्टी एकता प्रक्रियामा प्रवासीहरुको मागलाई सम्बोधन गर्न नसके यसले समस्या निम्त्याउने दुबै संगठन बताउँछन् ।

‘अहिले हामी संगठनभित्र छलफलमा छौं । पार्टी एकताको प्रक्रियामा हामीलाई समेटिएन भने हामी औपचारिकरुपमा नै धारणा सार्वजनिक गर्छौं,’ एक नेताले भने ।
भारतमा रहेका लाखौं नेपालीहरु पार्टी एकतामा नसमेटिने अवस्थामा यसले एकीकृत पार्टीलाई भने ठूलो नोक्सानी हुने देखिन्छ । अन्य देश र भारतमा रहेका प्रवासहरुको प्रकृति फरक भएकोले भारतमा पार्टी संगठन रहने गरी एकताको निर्णय गर्न उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्