Logo

१० दिनभित्र त्रिभुवन विमानस्थलमा शव कक्षको व्यवस्था हुन्छ : श्रम मन्त्री बिष्ट



काठमाडौं ३,बैशाख । वैदेशिक रोजगारीमा मृत्युु भएका व्यक्तिको शव लिनको लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष बनाउने भएको छ। आज मन्त्रालयमा बसेको वैदेशिक प्रवर्द्धन बोर्डको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री मन्त्री विष्टले शव लिँदा आफन्तले पाउने गरेको दु:ख प्रति सरकार संवेदनशील रहेको बताए।

प्रवर्द्धन बोर्डको प्रतिनिधि रहने गरी सूचना बोर्डको स्थापना गरिसकिएको मन्त्री विष्टले जानकारी दिए। ‘आफन्तहरूले भोगिरहेका पीडा नभोग्नुपर्ने अवस्था सिर्जनाको लागि सूचना डेस्क स्थापना र शव बुझ्ने कक्ष स्थापना गर्ने क्रम अन्तिम चरणमा पुगेको छ’, मन्त्री विष्टले भने, ‘अबको १० दिनभित्रै यो कक्ष स्थापना गरिने छ।’

उनले आवश्यक ठाउँको पनि टुंगो लगाइसकिएको जानकारी दिए।

विदेशस्थित जेलमा रहेका र विभिन्न मुद्दा खेपिरहेका नेपाली श्रमिकहरूलाई कानुनी प्रतिरक्षाको लागि सरकारले सहयोग गर्ने पनि उनले जनाए। ‘श्रमिकले एक्लाएक्लै शुल्क तिरेर कानुनी लडाइँ लडिरहेका श्रमिकलाई राहत पुग्ने विश्वास लिएको छु’, मन्त्री विष्टले भने।

त्यस्तै, श्रमिकका परिवारलाई आवश्यक सेवा उपलब्ध गराउन प्रदेश र सम्भव भएसम्म स्थानीय तहमा संयन्त्र स्थापना गर्ने पनि मन्त्री विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्