Logo

एन्टा अष्ट्रेलियाद्धारा मधेशी जेहेन्दार विद्यार्थीेलाई ५ लाखको छात्रवृति दिने घोषणा



काठमाडौं, २७ बैशाख । अष्ट्रेलियामा रहेका मधेशीहरुको छाता संगठन एसोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले मधेशी विद्यार्थीको लागि वर्षेनि ५ लाख बरारबको छात्रवृति दिने भएका छन् । मधेशी समुदायबाट कक्षा १२ उतिर्ण भएका १ जना विद्यार्थीलाई उच्च शिक्षाको लागि ५ लाखको छात्रवृति घोषणा गरेको नेपाल भ्रमणमा रहनु भएका एन्टा अष्ट्रेलिया उपाध्यक्ष रंजित साहले जानकारी दिनु भयो । एन्टा अष्ट्रेलियाको पहलमा हरेक वर्ष १ जना विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न यो छात्रवृति प्रदान गर्ने लागिएको उपाध्यक्ष साहको कथन छ ।

उपाध्यक्ष साहले छात्रवृतिको रकम भने आवश्यकता अनुसार वर्षेनि बढाउने योजना समेत रहेको बताउनुभयो । छात्रवृतिको लागि भने सहिद परिवार, गरिव, जेहन्दार र दलित विद्यार्थीलाई पहिलो प्राथमिकता दिईने छ । छात्रवृतिको लागि एन्टाले तराई रमधेशका उच्च माध्यमिक विद्यालयमा आवेदन फर्म दिएर आवेदन संकलन गर्ने तथा मिडिया मार्फत सम्पुर्ण विद्यार्थीलाई जानकारी गराउने उपाध्यक्ष साहले जनाउनु भयो । यो छात्रवृति योजना यसै शैक्षिक सत्र देखि सुरु गर्नको लागि कक्षा १२ को परिक्षा लगतै आवेदन फर्म वितरण तथा संकलन गरिने छ ।

यससंगै मधेशको समग्र विकासको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना प्रविधि, पर्यटन लगायका क्षेत्रमा प्रदेश सरकार सँग एन्टा सहकार्य गरेर कार्य गर्न तत्पर रहेको साहको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्