Logo

माओवादीले घुर्कीले अब बाम एकता असम्भव बन्दै



काठमाडौं, २ जेठ । नेकपा एमालेका नेता तथा एमाले माओवादि पार्टी एकता मस्यौदा कार्यदल सदस्य वेदुराम भुषालले माओवादीले घुर्की देखाउँदा पार्टी एकतामा विलम्ब भइरहेको बताएका छन् । उनले भने “अरुण तेस्रोको शिल्यान्यास त्यसैको उदाहरण हो । विभागीय मन्त्रीलार्इ नबोलार्इ त्यत्रो कार्यक्रम हुन्छ त ? ” भुषालले थपे “मन्त्रिपरिषदले गरेको निर्णय हो यो, मन्त्रिपरिषदको निर्णय त मान्नु पर्यो । ”

यहि कारण राष्ट्रिय सभागृहमा विशेष सुरक्षासाथ भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका गृहमन्त्रीदेखि अन्य मन्त्रीहरु सहभागी भएनन ।यसमा पनि एमालेले माओवादीलार्इ नै आरोप लगाएको छ । एमाले नेता भुषालले भने “आपसी असमझदारी भए बसेर कुरा गर्नु पर्यो नी,फरक बाटो हिड्न खोजेर कहाँ हुन्छ । ” पार्टी एकताका लागि शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् ।

चुनावी गठबन्धन र पार्टी एकताको निर्णयसहित गत १७ असोजमा भएको ६ बुँदे सहमतिको शृंखलाले सात महिना पूरा गरे पनि संवाद शृंखलाबाट निष्कर्ष नआउँदा दुवै पार्टीका कार्यकर्तामा संशय बढेको छ । तर प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दिन पार्टी एकता हुने बतार्इरहेका छन् । ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा माओवादी केन्द्रसँग एकता हुने बताएका हुन् ।

अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे । उनले भने, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई(तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।” एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्