Logo

माइतीघर मण्डलाको राष्ट्रिय झण्डा रोइ रहेको छ, कसले स्याहार गर्ने ? भन्दै एक युवाले लेखे प्रधानमन्त्रीलाई खुल्ला पत्र



सम्माननीय नेकपा ब्रेकेटका अध्यक्ष तथा नेपाल का प्रधानमन्त्री श्री खडग प्रसाद ओली ज्युलाई “खुला पत्र”

आदरणीय ओली जी,

हाम्रो देशका ठुला दलका नेताहरु द्वारा बिभिन्न कार्यहरु गरिन्छ र त्यसबारे खुब प्रचारबाजी पनि हुन्छ। ती कार्यहरूलाई जनताले पनि मुक्तकन्ठले जयजयकार गर्छन l सामाजीक सन्जाल फेसबुकमा हजारौं शेयर गरिन्छ भने ट्वीटर मा ट्रेन्ड बन्न जान्छ l विश्वको उत्कृष्ट संविधान अर्थात हाम्रो नेपालको संविधान अनुसार, “सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोरिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो गमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो ।“ 

अब लागौं विषय तर्फ, तपाईंको अध्यक्षतामा अहिलेसम्मकै ठुलो अर्थात १० मिटर अग्लो र साँढे सात मिटर चौडाई रहेको नेपालको राष्ट्रिय झण्डा माईतीघर मण्डालामा राखिएको सायद तपाइंले बिर्सिनु भा’छैन होला l हो म त्यहीं मण्डालाको फ्रन्टमा नै राखिएको त्यो ठुलो झण्डा बारे भन्न गईरहेको छु l तपाइंले त्यो झण्डा माईतिघरमा राखेको वर्ष दिन भन्दा बढी भयो, के तपाईंले त्यस झण्डालाई फर्केर हेर्नुभाछ ? कि कसैलाई हेर्नको लागि जिम्मा दिनुभा’छ ? दिनहुँको घाम/पानी/धुलोले मुहार परिवर्तन हुन पुगेको झण्डा बारे कसले सोच्ने त? च्यात-चुत्त परेको कपडा जसको सिम्रिक रंग हरियो मा परिणत हुदै गएको छ, गाढा निलो कालोमा परिणत भएको छ भने सेतो चन्द्र सुर्य पहेंलोमा परिणत भएको छ l

यि यावत कुराहरुको विचार कस्ले गर्ने? मैले हेर्दा असाध्यै नराम्रो लाग्यो। म जस्ता कैयन देशवाश र विदेशी पर्यटकहरु पनि हेर्दै होलान, के यो देशको बदनामी होईन ? के यसको लागि जिम्मेवार तपाईं हुनुहुन्न ? मैले त्यो झण्डा फेरेर नया राखुम भनेर सोचें तर म प्रदेश – २ (मिथिला मधेश ) बाट भएकोले मेरो खुट्टा रोकियो l किनभने हामी 2 नम्बर प्रदेश वासीलाई नेपाल को झण्डा बारे ज्ञान नै के छ र, जाबो एउटा टेलर मास्टर ले गरेको गल्तीले गर्दा हाम्रो माननीय मुख्यमन्त्री “लाल बाबु राउत” प्रति देशको बच्चा बच्चा नै औंला उठाएको कहाँ बिर्सिन सक्छु l जब देशले मुख्यमन्त्रीलाई छोडेन भने म को हुँ ? केहीं गल्ती हुन्थ्यो भने मेरो के हुन्थ्यो भनेर म कल्पना पनि गर्न सक्दिन l

अन्ततः त्यस झण्डा बाट खुला रुपमा हाम्रो देशको बेईज्जती भईरहेको बारे म निजलाई जानकारी गराउन चाहन्छु, किनभने हाम्रा देशका स्वघोषीत बुद्धिजीवीहरुको ध्यान त्यहाँ सम्म पुगेको छैन र पुग्दैन पनि l आशा छ यो पत्र निज सम्म पुग्छ, र निज तथा निजका अनुयायी हरुद्वारा साकारात्मक प्रतिक्रिया आउनेछ, धन्यवाद ll

प्रेषक,

“ बिटु मिश्र वत्स “

२ नम्बर प्रदेश ‘तिलाठी’ घर भई हाल काठमाडौंको सडकमा भटकिरहेका एक आम आदमी

प्रतिक्रिया दिनुहोस्