Logo

डा उपेन्द्र देवकोटाको एक अधुरो सपना के हो त्यो ? उनलाई “परलोकको हैन, यही लोकको चिन्ता छ ” पढ्नुस उनको मातृभूमि प्रेम



काठमाडौं । मनमा बाँकी रहेन अब सारा सांसारिक इच्छा, आकाँक्षा र वासना । शिथिल भइसकेको होला जीजिविसा पनि करीब करीब । अब कसैप्रति छैन राग, द्वेष र घृणा । अनि कसैप्रति छैन, अगाध आशक्ति र मोह पनि ।

देहले मृत्युसँग संघर्ष गर्दैछ तर, जीवनका सारा मोह र आशक्ति मरिसक्दा पनि बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको हृदयमा मरेको छैन, जन्मभूमिको माया । जीवनको आश मरीसक्यो, मृत्युको त्रास पनि मरीसक्यो, तर मरेको छैन, माटोको माया ।

‘डा. देवकोटाको निधन’

‘डा. देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली’

‘शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना’

सात महिनायता डा. यस्तो जीवन बाँचिरहेका छन्, जहाँ असह्य पीडा मात्र छैन, आँखै अगाडि मृत्युको छायाले घेरा हालिरहेको छ । तै पनि उनलाई भेट्नेहरु उनको मुहारमा मृत्युको भय देखिरहेका छैनन् । जीवनप्रतिको मोह या लोभ किंचित पनि भेटिरहेका छैनन् । उनमा आफ्नो भन्दा पनि मातृभूमिकै चिन्ता देखिन्छ ।

केही सञ्चार माध्यममा र धेरै सामाजिक सञ्जालमा यस्तै हल्ला चलिरहँदा डा. देवकोटामा भने जन्मभूमिमा पाइला टेक्ने हुटुहुटी जागिरहेको थियो । जन्मभूमिप्रतिको लगाव झन तीव्र भइरहेको थियो ।

मृत्युको घन्टी बजिरहेको बेला उनले सम्झिए, बाल्यकालको पदचाप छुटेको त्यही माटो । झलझली सम्झिए, आफू हुर्किएको गाउँ र जन्मिएको घर । अनि रहर जाग्यो, त्यही घरको पिंढीमा ढल्किएर सिस्नेपानी धाराको पानीले आँत भर्ने ।

१२ वर्षअघि उनले नै स्थापना गरेको बाँसबारी न्युरो अस्पतालको प्राङ्गणबाट हेलिकप्टरमा राखी उनलाई पुर्‍याइयो, गोर्खाको पालुङटार नगरपालिका-४ बोहोरागाउँस्थित पुर्ख्यौली घरमा ।

शनिबार मध्यान्ह । मर्मान्त पीडासँग जुधिरहेका उनी सैयौं शुभचिन्तकमाझ घेरिएर पूख्र्यौली घरको पिंढीमा सुस्ताए । चम्चाबाट दुई पटक सिस्नेधाराको पानी पिए । अहो ! अमृत पिए सरी भो उनलाई जन्मभूमिको जल । प्रत्यक्षदर्शीले देखे, त्यो जल पिउनासाथ डा. साबको मुहारमा अतार्किक र अलौकिक कान्ति छायो । उनले सञ्चो महशुस गरे ।

मृत्युको कला

संसारका धेरै मानिस मृत्युलाई सहजै स्वीकार्दैनन् । मृत्युबोधको पीडाले छटपटाइरहन्छन् । राज्यको होस् या व्यक्तिगत, सारा धन खर्चेर विश्वका महँगा अस्पतालमा उपचार गर्न लालायित हुन्छन् । क्षणभंगुर जीवनको अनित्यताको बोध नहुने लाखौं मानिसहरु मृत्युशैयाको कष्ट भोगिरहेका हुन्छन् ।

ओशो भन्छन्, ‘मृत्युको पनि कला हुन्छ । बाँच्न मात्र हैन, मर्नसमेत जान्नुपर्छ । मर्ने कला जसलाई आउँछ, उसका लागि मृत्युबोध पनि आनन्ददायक हुन्छ ।’

लाग्छ, डा. देवकोटाले मृत्युलाई सहज ठानिसकेका छन् । मृत्युबोधको बेदना पनि पचाइसकेका छन् । ओशोले भने झैं उनले मृत्युको कला सिकिसकेका छन् । हजारौंलाई जीवन दिएका अनुभवी चिकित्सकलाई मृत्युले तर्साउन सकेन ।

सात महिनायता डा. यस्तो जीवन बाँचिरहेका छन्, जहाँ असह्य पीडा मात्र छैन, आँखै अगाडि मृत्युको छायाले घेरा हालिरहेको छ । तै पनि उनलाई भेट्नेहरु उनको मुहारमा मृत्युको भय देखिरहेका छैनन् । जीवनप्रतिको मोह या लोभ किंचित पनि भेटिरहेका छैनन् । उनमा आफ्नो भन्दा पनि मातृभूमिकै चिन्ता देखिन्छ ।

उनलाई “परलोकको हैन, यही लोकको चिन्ता छ”‘आफनो देश नेपाल समृद्ध भएको हेर्न नपाएकोमा ग्लानी छ’ । र, भेट्न आउने आफन्त र इष्टमित्रलाई भन्ने गर्छन्, ‘अब सारा अवरोध पन्छाएर यो देश समृद्ध बनाउनुस् है ।’

माटोको माया

यो क्षणमा उनी उच्चतम् सुविधा खोज्दै विश्वका कुनैपनि महँगा अस्पतालका शैयामा सुस्ताउन सक्थे । झिनो भए पनि जीवन-रक्षाको आशा बोकेर थप उपचारका लागि भौतारिन सक्थे ।

तर, लन्डनको किंग्स अस्पतालमा ‘वाइल डक्ट’ क्यान्सर पहिचान गरी सम्भव भएसम्मको उपचारले केही नलागेपछि उनलाई विदेशी भूमिमा बसिरहन निको लागेन । बाँच्नका लागि मरिहत्ते गर्नुभन्दा छोटिँदै गएको जीवनका आखिरी पललाई सार्थक बनाउन आफ्नै मुलुक फर्किने निधो गरे ।”

यो पल वडो संवेदनशील हुन्छ । यही पलमा त महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ‘आखिर श्रीकृष्ण रहेछ एक’ को बोध भएको थियो । डा. देवकोटालाई पनि लाग्यो, जननी र जन्मभूमि भनेको स्वर्गभन्दा माथि हुन्छ । जहाजबाट ओर्लनासाथ जब उनले नेपाली धर्ती टेके, एक चिम्टी माटो उठाएर आफ्नो निधारमा टाँसे ।

‘वैशाख १५ गते प्लेनबाट उत्रँदा हल्का पानी परिरहेको थियो । एयरपोर्टको भूमिमै माटोको चन्दन लगाएँ’, उनले आˆनो स्मरणमा लेखेका छन् ।

३० वर्षअघि बेलायती भूमिबाटै न्युरो सर्जरीको उम्दा अनुभव र ज्ञान लिएर स्वदेश र्फकंदा पनि उनको मनमा मातृभूमिप्रति यस्तै अगाध अनुराग जागेको थियो । विदेशमा सेटल भएर आरामको जिन्दगी बिताउने चाहना उनमा कहिल्यै भएन ।

एकपछि अर्को खुड्किलो उक्लिदै चिकित्सा विज्ञानकै सवैभन्दा जटिल विधा ‘न्युरो सर्जरी’मा दक्षता हासिल गरेका उनले एकपटक टेलिभिजन अन्र्तवार्तामा भनेका थिए, ‘जब एउटा क्षितिजमा पुगिन्छ, त्यहाँ उभिएपछि अर्को क्षितिज देखापर्छ । फेरि त्यहाँ पुगेपछि अर्को क्षितिज देखिन्छ ।’

उनी यसरी नै उच्चतम उपलब्धी हासिल गरिरहेका थिए, जतिबेला तन्नेरी थिए । घरकै पिंढीबाट गुरुकुल शिक्षा लिएका र स्थानीय अमरज्योति जनता माविबाट विद्यालय तह पूरा गरेका देवकोटाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबीबीएस गरे । उताबाट फर्किंदा पनि उनलाई देश प्रेमले नै प्रेरित गरेको थियो । अन्यत्रका अवसर छाडेर उनलेे वीर अस्पतालमै मेडिकल अफिसरका रुपमा न्यूरो सर्जरीको जग बसाउने काम गरेका थिए ।

डा. देवकोटाको लगन र देशभक्ति देखेपछि सर्जरी विभागका तात्कालीन प्रमुख डा. डि.एन गोंगलले उनलाई न्यूरो सर्जरीको विशिष्ठ तालिमका लागि बेलायतको ग्लास्गोमा अवस्थित साउर्थन जनरल हस्पिटलमा पठाएका थिए । पढाइपछि तालिमको ६ वर्षे अवधिमा उनले सिटीस्क्यान आविस्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा समेत काम गर्ने अवसर पाए ।

उनलाई बेलायतको आवासीय भिसा दिइएको थियो तर, मातृभूमिमै सेवा गर्ने उत्कट अभिलाशा बोकेर १९८९ मा उनी स्वदेश फर्केका थिए । उनी त्योबेला विश्वको कुनैपनि कुनामा बसेर आफ्नो जीवनलाई रनघन बनाउन सक्थे ।

उनी कुनै सुख-सुविधामा अलमलिएनन् । पाखुरीमा जोश, जाँगर छँदै स्वदेश फर्किए । त्यसबेला उनमा विलक्षण सीप, दक्षता मात्र थिएन, ‘आफ्नै माटोमा केही गर्ने’ दृढता पनि थियो । उर्जा थियो । र, मातृभूमिप्रतिको अगाध स्नेह थियो । उनको यो आगमन आफैंमा असंख्यौं रोगीको निम्ति जीवन-दानको प्रारम्भ थियो ।

यसपटक पाँच महिने बसाई छोट्याउँदै लन्डनबाट नेपाल आइरहँदा उनमा आफ्नै शरीरको रोगबिरुद्ध लड्ने ताकत थिएन । उनी हारिसकेका थिए, ‘अब म फेरि बिरामीको सेवामा र्फकन सक्ने छैन ।’

ग्रामीण परिवारमा जन्मिएर, गाउँकै हावापानीमा हुर्किएर आफ्नै बलबुतोले ‘न्युरो सर्जन’ भएका उनमा आफ्नो माटोको कति स्नेह रहेछ भन्ने कुरा अहिले छचल्किएको छ । आफ्नै माटोमा जीवनको बिसौनी खोजेका उनले अत्यन्तै कष्टकर क्षणमा पनि जन्मथलोलाई भुलेनन् । कष्ट खेपेरै आफूले वाल्यकाल बिताएको गाउँ फर्किए र, सन्तुष्टिको सास फेरे ।

अनलाइन खबरले छापेको स्टोरी अनुसार, डा. देवकोटाले बाचुञ्जेल देशकै लागि गरे । उनकै पहलकदमीबाट वीर अस्पतालमा न्यूरो सर्जरीको विकास भयो । शाही कालमा उनी स्वास्थ्यमन्त्री भए । अध्यादेशमार्फत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बनाए । अवकाश भइसकेपछि पनि उनले आफ्नै पहलमा बाँसबारीमा न्यूरो अस्पताल स्थापना गरे ।

करिव साढे तीन दशक लामो कामको दौरानमा २० हजार बढी शल्यक्रिया गरे । हजारौं बिरामीको प्राण रक्षा गरे । र त उनले बुझेका छन् शरीरको मेलो, बाँच्नुको महत्व ।

उनले यतिबेला बोध गरेका छन्, जन्मनु नै मर्नु हो । जीवन र मरणको मझदारमा उनले जुन जीवन बाँचे, त्यो अरुको निम्ती बाँचे ।

प्रतिक्रिया दिनुहोस्