Logo

जलस्रोतमा सबै प्रदेश भन्दा धनी प्रदेश ५, किन पछि पर्यो ?



काठमाडौं, १ असार । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका आधारमा हेर्दा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ ।

जलविद्युत्को क्षमता अत्याधिक भए पनि निर्माण सम्पन्न भएको आधारमा हेर्दा कर्णाली प्रदेशमा हालसम्म ३.८ मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार उत्पादनका हिसाबले कर्णाली प्रदेश कमजोर देखिएको हो । बैंककाअनुसार उत्पादन भएको विद्युत्का आधारमा प्रदेश नं ४ मा सबैभन्दा बढी ४५९ मेगावाट विद्युत् उत्पादन भएको छ ।

यस्तै प्रदेश नं ३ मा ३४० मेगावाट, प्रदेश नं १ मा १२३, प्रदेश नं ७ मा ३८.५ र प्रदेश नं ५ मा २१.७ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेश नं २ मा कुनै पनि जलविद्युत् आयोजना सञ्चालन तथा निर्माणाधीन अवस्थामा छैन ।

निर्माणको चरणमा रहेका चार हजार ६४१ मेगावाट क्षमताका आयोजनामध्ये ५० प्रतिशतभन्दा बढी क्षमताका आयोजना प्रदेश नं ३ मा रहेका छन् । सो प्रदेशमा दुई हजार ३२६ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन् ।

प्रदेश नं ४ मा एक हजार ४०४ मेगावाट, प्रदेश १ मा ७६५, प्रदेश नं ७ मा ८९, कर्णाली प्रदेशमा करिब ४० मेगावाट र प्रदेश नं ५ मा १६ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा छन् ।

जलविद्युत् उत्पादन क्षमताका आधारमा प्रदेश नं २ सबैभन्दा कमजोर देखिएको छ । नेपालले हालसम्म मान्दैआएको कूल ८३ हजार मेगावाट क्षमतामध्ये प्रदेश नं २ मा २०० मेगावाट मात्र क्षमता रहेको पाइएको छ । विद्यमान संघीय संरचनामा जलविद्युत्तर्फ सबैभन्दा कमजोर अवस्था प्रदेश नं २ को रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का अनुसार प्रदेश नं २ मा विद्युत् उत्पादनका लागि वैकल्पिक उपाय र सोच जरुरी छ ।

कूल जलविद्युत् उत्पादन क्षमताका हिसाबले प्रदेश नं ७ सबैभन्दा धनी देखिएको छ । सो प्रदेशको विद्युत् उत्पादन क्षमता १८ हजार १४९ मेगावाट छ । प्रदेश नं ५ को उत्पादन क्षमता १४ हजार ३० मेगावाट, प्रदेश नं १ मा १२ हजार ९५३ मेगावाट, प्रदेश नं ३ मा १२ हजार ६३६ मेगावाट, प्रदेश नं ४ मा १० हजार २२८ मेगावाट तथा कर्णाली प्रदेश ११ हजार ८०३ मेगावाट विद्युत् उत्पादनको क्षमता राख्दछ ।

सञ्चालनमा रहेका तथा हाल उत्पादन भइरहेको विद्युत् आयोजनालाई हेर्दा प्रदेश नं ४ अग्रस्थानमा छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न नहुँदासम्म प्रदेश नं ४ अग्रस्थानमा रहने विद्युत् विकास विभागको तथ्यांकले देखाउछ । सो आयोजना सम्पन्न भए प्रदेश नं ३ अग्रस्थानमा पुग्नेछ ।

हालसम्म एक हजार ८० मेगावाट कूल जडित क्षमता पुगेको छ । चार हजार ६४१ मेगावाट क्षमताका आयोजना निर्माणका चरणमा छन् । सरकारले आगामी तीन वर्षमा तीन हजार मेगावाट, पाँच वर्षमा पाँच हजार तथा दश वर्षमा निजी क्षेत्रसहित १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ

प्रतिक्रिया दिनुहोस्