Logo

नेपाल एयरलाइन्सको नयाँ ‘वाइड बडी विमान’ काठमाडौं आइपुग्यो



काठमाडौं, १४ असार । नेपाल वायु सेवा निगमले वाइड बडी विमान ल्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार बिहान अवतरण गरेको ‘ए ३३०–२००’ सिरिजको विमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

८ घण्टाको यात्रा तय गर्दै काठमाडौं आइपुगेको सो विमानको पूजासमेत गरिएको छ ।
युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको सो विमानलाई निगमले ‘अन्नपूर्ण’ नाम दिएको छ । अमेरिकाको एएआर कम्पनीसँग २१ अर्ब ९० करोड रूपैयाँमा सो विमान निगमले किनेको हो ।

नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् ।
नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिने गरी प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो । अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्