Logo

भारतमा अन्तर्राष्ट्रिय सेक्स र्‍याकेटको पर्दाफास, १६ नेपाली महिलाको उद्धार



काठमान्डौँ , १६ साउन  । भारतको बनारसमा प्रहरीले एक सेक्स र्‍याकेटको पर्दाफास गरी १८ महिलाहरुको उद्धार गरेको छ ।बनारस प्रहरीको अपराध विभाग र दिल्ली प्रहरीले संयुक्त रुपमा बसन्त विहार क्षेत्रमा पर्ने एक घरमा छापा मारे उनीहरुको उद्धार गरेको हो । उद्धार गरिएका महिलामध्ये १६ जना नेपाली भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार महिलाहरुलाई केही दिन अघिदेखि उक्त घरमा बन्धक बनाएर राखिएको थियो र उनीहरुलाई केही दिन भित्रमा खाडी मुलुक पठाउने तयारी गरिएको थियो ।

नेपाली महिलाहरुलाई राम्रो जागिर मिलाइदिने प्रलोभनमा पारी बनारस ल्याइएको प्रहरी अधिकारीले बताएका छन् ।जुलाईको पहिलो सातामा दुई नेपाली महिलाहरु तस्करको नियन्त्रणबाट फुत्किन सफल भएका थिए र उनीहरुले नेपाल प्रहरीलाई र्‍याकेटको बारेमा बताएका थिए । त्यसपछि नेपाल प्रहरीले नयाँदिल्लीस्थित नेपाली दूतावाससँग सम्पर्क गरेको थियो ।

नेपाली दूतावासले खबर गरेपछि बनारस प्रहरीले एक साताभित्र उक्त क्षेत्रका करिब आधा दर्जन घरहरुमा छापा मारेको थियो । उनीहरुले जय सिंह नामको एक मानिसलाई पनि पक्राउ गरेका थिए ।पक्राउ परेपछि जय सिंहले महिलाहरुलाई मध्यपूर्व लैजाने तयारी भएको बताएका थिए । भाग्न सफल भएका दुई महिला र जय सिंहले दिएको सूचनाको आधारमा प्रहरीले संयुक्त रुपमा छापा हानेपछि र्‍याकेटको पर्दाफास गरेको हो ।

उद्धार गरिएका महिलाहरुलाई वाईएमसीए नामक सामाजिक संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्