Logo

नेपाली युवती तस्करीमा दिल्ली पुलिसको यस्तो हात रहेछ !



 काठमान्डौँ , १७ साउन । भारतको राजधानी नयाँ दिल्लीबाट एक साताको अवधिमा ७३ नेपाली युवतीको उद्दार गरिएको छ । दिल्लीलाई ट्रान्जिट बनाएर विभिन्न मुलुकमा लैजाने तयारीमा रहेका ७३ नेपाली युवतीहरुको उद्दार गरिएको हो ।

यसको लागि दिल्ली कमिसन फर वुमनकी अध्यक्ष स्वाति मालीवालको नेतृत्वमा दिल्ली प्रहरीले छापा मारेर नेपाली युवतीहरुको उद्दार गरेको हो । पछिल्लोपटक मंगलबार राति दिल्लीको पहाडगञ्जस्थित एक होटलमा छापा मारी ३९ नेपाली युवतीको उद्दार गरिएको थियो । हृदय इन होटलबाट खाडी मुलुक तथा श्रीलंकामा बेच्न लगिएका ३९ नेपाली युवतीहरूको उद्दार गरिएको हो ।

मंगलबार राति १ बजेदेखि बिहान ६ बजेसम्म छापा मारिएको थियो । पहाडगञ्जको उक्त होटल नेपालीहरूलाई मात्र राख्न प्रयोग भएको भेटिएको छ । यसअघिका दुई रेस्क्यु अपरेसनमा ३५ नेपाली युवतीहरूको उद्दार गरिएको थियो ।

बलात्कारको राजधानीका रुपमा बदनाम भईरहेको दिल्ली अब मानव तस्करको ट्रान्जिट पोईन्ट पनि बनेको छ । उद्दार गरिएको सबै युवतीहरूलाई होटलको एउटै कोठामा थुनेर राखेको अवस्थामा भेटिएको दिल्ली आयोगकी अध्यक्ष मालीवालले जानकारी दिईन् । उनीहरूलाई श्रीलंकासहित इराक, ओमन, कुवेत लगायतका खाडी मुलुकमा बेच्न लगिएको थियो ।

आयोगकी अध्यक्ष मालीवालले मानवतस्करीका दिल्ली प्रहरीकै मिलेमतोमा मानव तस्करी भईरहेको आरोप लगाईन् । दिल्लीका विभिन्न स्थान भारतीय, नेपालीसहित विभिन्न देशका युवती तथा महिलाहरूलाई विक्रीका लागि प्रयोग भइरहँदा पनि दिल्ली प्रहरीले थाहा नपाउनु आश्चर्यको विषय बनेको उनको भनाई छ ।

‘यति ठूलो र्‍याकेटिङ चलिरहँदा प्रहरीले किन थाहा पाउँदैन?’, उनले प्रश्न गरेकी छन्,’ दिल्ली प्रहरीको मिलेमतोमा मानवतस्करी सञ्चालित छ । नत्र प्रहरीको पाँच सय मिटर आसपासमा कसरी यस्तो हुन सक्छ ?’

आयोगकी अध्यक्ष मालीवालले नेपाली सीमामा कडाई गर्नुपर्ने बताएकी छन् । मानवतस्करहरूले नेपालबाट युवतीहरूलाई भारत हुँदै विभिन्न मुलुक पुर्‍याउँदा पनि नेपाल सरकार मुकदर्शक बनेको भन्दै अब सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताईन् ।

उक्त स्थानबाट ६१ नेपालीका सहित ६८ जनाको पासपोर्ट बरामद भएको छ । दिल्ली प्रहरीले असहयोग गरेपछि बनारस प्रहरीको सहयोगमा उनीहरूको उद्दार गरिएको आयोगकी अध्यक्ष स्वातिले बताईन् ।

प्रतिक्रिया दिनुहोस्