Logo

बैंकहरूले अकुत पैसा कमाउनुको रहस्य यस्तो रहेछ



काठमाडौं, ८ भदौ । सञ्चालनमा रहेकामध्ये २२ बैंकले गत वर्ष निक्षेप र कर्जाबीचको ब्याजअन्तर (स्प्रेड) बढाए । यो नै बैंकहरूको नाफा वृद्धिको प्रमुख कारण बन्यो । डेढ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएको गुनासो गर्दै आएका बैंकको नाफा भने लोभलाग्दो छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

गएको वर्ष वाणिज्य बैंकहरूले खुद नाफा ५३ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरे । यो बैंकहरूको कुल आयबाट कुल खर्च र कर घटाएर आएको शुद्ध नाफा हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस्तो नाफा करिब २३ प्रतिशतले बढेको छ ।

यो अर्थतन्त्रको औसत वृद्धिदरभन्दा धेरै बढी हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ती बैंकहरूको यस्तो नाफा ४४ अर्ब ८४ करोड रुपैयाँ थियो ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकहरूको नाफा वृद्धिको प्रमुख स्रोत ब्याज आम्दानी नै छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष २२ वटा बैंकहरूको कर्जा निक्षेपबीचको ब्याज अन्तर (स्प्रेड) बढेको छ ।

बाँकी बैंकहरूको स्प्रेड घटेको छ । यसको अर्थ व्यवसाय विस्तारका लागि नयाँ क्षेत्र पहिचानसहित ‘नवप्रवर्तन’ ल्याउनुको साटो ऋणको ब्याजदर वृद्धिमै बैंकहरूले ध्यान केन्द्रित गरे भन्ने हो ।

केही बैंकहरूको स्प्रेड राष्ट्र बैंकले तोकिदिएको अधिकतम ५ प्रतिशतभन्दा पनि बढी छ । प्रकाशित वित्तीय विवरणअनुसार २१ बैंकहरूको स्प्रेड ४ प्रतिशतभन्दा बढी छ । जसमध्ये चारवटा बैंकको स्प्रेड ५ प्रतिशत बढी छ ।

ती बैंकहरूको स्प्रेड राष्ट्र बैंकले दिएको अधिकतम सीमाभन्दा धेरै हो । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतभन्दा बढी ब्याजअन्तर राख्न पाउँदैनन् । यो वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले स्प्रेड साढे ४ प्रतिशतमा झारिसक्नुपर्ने नयाँ निर्देशन छ ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाबीचको ब्याजअन्तर धेरै गराएकै कारण औसतभन्दा बढी वृद्धिदर हासिल भइरहेको पूर्वसचिव रामेश्वर खनालले बताए ।

मुलुकको आर्थिक विकासका लागि आवश्यक लगानी (पुँजी) जुटाएर बैंकहरूले महत्त्वपूर्ण योगदान पुर्‍याए पनि उपभोक्ताले व्यवयाय विस्तारको लाभ प्राप्त गर्न नसकेको उनको भनाइ छ ।

 

– दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्