Logo

नेपाली फुटबल फ्यानलाई खुशीको खबरः भारतीय प्रशिक्षक भन्छन्ः भारत हैन्, नेपाल उपाधि दाबेदार



ढाका । भारतीय राष्ट्रिय टोलीका सहायक प्रशिक्षक बैंकटेस सानमुगमले दक्षिण एसियाली फुटबल प्रतियोगिता(साफ)को जारी १२ औं संस्करणको उपाधि दाबेदार भारत नभई नेपाल भएको बताएका छन्।

NIC ASIA
सार्क गोल्डकपसहित सात पटक क्षेत्रीय प्रतियोगिताको उपाधि उचालेको डिफेन्डिङ च्याम्पियन भारतका प्रशिक्षक बैंकटेसले पाकिस्तानविरुद्धको सेमिफाइनल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा प्रतियोगिताको दाबेदार भारत सुरुदेखि नै नरहेको बताए।

समूह चरणका दुईवटै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको भारतले बुधबार दोस्रो सेमिफानलमा पाकिस्तानको सामना गर्दा आठौं चोटी उपाधिको लक्ष्य हुनेछ। त्यसअघि नेपाल र माल्दिभ्स पहिलो सेमिफाइनलमा भिड्नेछन्।

फाइनलमा नेपाल र भारत भिड्ने धेरैको अनुमानका बीच उनले भने, ‘हामी उपाधिका दाबेदार हैनौं। हामी उपाधि जित्न भन्दा पनि राम्रो खेल्न यहाँ आएका हौं। अझैपनि हाम्रो लक्ष्य उपाधि हैन्। सेमिफाइनलमा रहेका टिमहरुमध्ये नेपाल उपाधि दाबेदार हो। प्राविधिक रुपमा अन्य टोली भन्दा नेपाल बलियो छ।’

नेपाली प्रशिक्षक बालगोपाल महर्जनले भने नेपालले साफ च्याम्पियनसिपमा इतिहास रच्ने विश्वास व्यक्त गरे। नेपाल २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन।

प्रशिक्षक महर्जनले साफ च्याम्पियनसिपको पूर्वसन्ध्यामा बंगलादेशमा आयोजना भएको पत्रकार सम्मेलनमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा पुगेर इतिहास रच्ने दाबी गरे। उनले भने, ‘नेपाल साफ च्याम्पियनसिपको ग्रुप स्टेजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समूह बिजेता बनेको टोली हो। पाकिस्तानसँग २–१ ले पराजित भएपनि भुटानलाई ४–० र आयोजकलाई २–० ले पराजित गर्नु नेपालको लागि महत्वपूर्ण कुरा हो। नेपालले प्रतिस्पर्धात्मक खेलिरहेको छ। त्यसैले म नेपाल फाइनलमा पुग्छ भन्नेमा विश्वस्त छु। नेपालले इतिहास रच्नेछ।’

यसैगरी पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान बिराज महर्जनले नेपालले माल्दिभ्सलाई पराजित गर्नेमा आफू् विश्वस्त भएको बताए। उनले भने, ‘नेपालले माल्दिभ्सलाई जित्छ भन्नेमा विश्वस्त छु। तर धेरै विश्वस्त चाहिँ छैन्। बुधबार हामी जितकालागि मैदान उत्रनेछौं।’

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म छ पटक खेलेका छन्। जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो। नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ।

नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बङ्गबन्धु गोल्डकप हो। उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो। नेपाल र माल्दिभ्सबीचको विजेताले भारत र पाकिस्तानबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। बुधबारनै भारत र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।

-नेपाल खबरबाट

प्रतिक्रिया दिनुहोस्