Logo

मध्यरातमा नौ महिने शिशु चोरी, सात घण्टापछि धान खेतमा फेला !



कञ्चनपुर, भदौ २९ । कञ्चनपुर पुनर्वास नगरपालिका-५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ ।

सोहि नगरपालिका-८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन् ।

शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उनका आफन्तकोमा जिम्मा लगाइएको उनले बताए ।

शिशुको शरीरमा स-साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए । शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए । -रासस

प्रतिक्रिया दिनुहोस्