Logo

त्यो “असोज तीनको कालो दिन”…….. मनोज साह



मनोज साह

वर्षमा एक चोटी असोज ३ आउने गर्छ | समयको यात्रा हो, मिति दोहोरिइरहन्छ | अनेकौ बलिदानी र अथक प्रयास पश्चात संविधानसभा मार्फत संविधानको घोषणा भएकोले यो मिति नेपालको एतिहासिक कालवृक्षमा दर्ज हुन पुगेको हो | संविधान मूलतः राष्ट्रलाई एक रुप, एक सुत्र, एक अनुशासनमा बाधेर सुन्दर र समृद्ध भविष्यको बाटोमा डोर्याउने दस्तावेज पनि हो | संविधानप्राप्तिको निम्ति गरिएको संघर्षलाई सम्झिन, स्वतन्त्रता/मुक्तिको एहसास दिलाउन र अनेकतामा एकताको सन्देश प्रवाह हेतु संविधान दिवस मनाउने विश्वव्यापी चलन छ | असोज ३ यिनै विशेष कारणवशले नेपालको लागि दिवस भएको हुनुपर्छ |

असन्तुष्टहरुको राजनीतिक नेतृत्व सहितको सहभागितामा तीनै तहको चुनाव सम्पन्न भएर तदनुरुपको सरकार संचालनमा रहेको अवस्थामा कार्यन्वयनको दृष्टिले हालको संविधानले एउटा महत्वपूर्ण चरण पार गरेको छ | संविधान मान्ने र संविधान दिवस मनाउनेहरुको लागि यसपालीको असोज तीन विशेष हुनु स्वाभाविक हुनजान्छ | सोहीअनुसार सरकारले हर्षोल्लासका साथ संविधान दिवस मनाउने उर्दी पनि जारी गरेको छ |

सिद्धान्तत: सम्पूर्ण देशवासीको निम्ति दीपावली हुनुपर्ने असोज तीन व्यवहारमा कसरि मुलुकको एउटा भू-भागको लागि कालो दिनमा परिणत भए | एउटा देशप्रेमी नागरिकको लागि सोचनीय प्रश्न एवम द्विविधा हो |

नेपाली समाजमा रहेको ध्रुवीकरणको खाडल सतहमा देखिने दिन पनि हो, असोज तीन | यो संविधान यसप्रति असन्तुष्टि राख्नेहरुको रगतले पोतिएको छ | विभेदकारी संविधान भन्दै ठुलो आन्दोलन, दर्जनौ सहिद भएका छन् |

कानुनी राज्यमा जति सुकै ठुलो अपराधी नै किन नहोस ऊ ट्रायलको हकदार हुन्छ | प्रहरी हिरासतमा मारिएका राम मनोहर यादब प्रतिको मौनताले मधेस आन्दोलनको बेलाको मौनता सम्झाएको छ | के मानवअधिकारकर्मी, के मिडिया, के नागरिक समाज ‘तै चुप मै चुपको’ अवस्थामा खासै परिवर्तन आएको छैन |

प्रधानमन्त्रीज्यूलाई ‘विभेदकारी संविधान’ भन्ने शब्दावली दोहोरीको भाका लाग्दो हुन् | तर,यो दोहोरीको भाका पीडाका कति स्वर, आवेगको शक्ति एवंम् व्याकुलताले भरिपूर्ण रहेको छ, विजयको मादमा विजितको संवेदनशीलताले ठम्याउन नसक्नु तत्कालको लागि स्वाभाविक नै हो |  

संविधान मुलुकको एउटा भूभाग भित्र सँगै मिलेर सौहार्दपूर्ण तरिकाले बस्ने सम्झौताको दस्तावेज पनि हो | मुलुकको एउटा पक्षको हस्ताक्षरनै नरहेको संविधानलाई नब्बे प्रतिशत मार्फत जारी गरिएको भनी चोख्याउन त मिल्छ तर असन्तुष्ट पक्षले स्वामित्व ग्रहण नगरे सम्म यसको स्वीकार्यता अपुरो रहिरहन्छ |

देश र जनताको आवश्यकता अनुसार संविधान संसोधन गर्दै जाने प्र. म. ओलीको एकहोरो अडान रहिआएको छ | तर, देश र जनताको आवश्यकता कसरी सिद्ध हुने हो त्यो एउटा पहेली जस्तो रहेको छ | लाखौ नेपाली हातहरु एक आपसमा जोडिएर बनेको मानव सांग्लोले समेत सिद्ध गर्न नसकेको आवश्यकता कसरी सिद्ध हुने हुन् त्यो त भविष्यको गर्भमा रहेको छ |

प्रधानमन्त्रीज्यू, सामान्य राजनीति बुझ्नेलाई पनि यो बुझ्न गाह्रो छैन कि तपाईको राजनीतिले तपाईलाई संसोधन गर्न दिदैन |

आन्दोलनको नेतृत्व गरेका दलहरु मध्ये एउटा दायाँ अर्को बायाँ रहेको, उत्तर देखि दक्षिण सम्म सिधा रेखामा रहेको हालको अवस्थामा तपाईको अप्ठ्यारो झनै कम भएको महसुस पनि गर्न सकिन्छ | कुनै दिन मुड ठिक भएको बेला ‘तथास्तु:’ भन्दै केहि आशिर्वाद बक्स भयो भने त्यो बेग्लै कुरा हो | यथार्थमा त अधिकार आशिर्वादले नभएर संघर्षले प्राप्ति हुन्छ |  

देशको प्रधानमन्त्री भएको नाताले तपाईसँग एउटा मात्र विनम्र आग्रह के रहन्छ भने हवाई फायर गरेर भुइँमा मान्छे ढाल्नमा पारङ्गत प्रहरी प्रशासनलाई असोज तीनको दिन संयमित भएर प्रस्तुत भइदिन निर्देशन दिनु होला | अहिंसात्मक रुपमा विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार यो संविधानले पनि दिन्छ |

समस्या समाधानको प्रथम चरण भनेको समस्याको पहिचान हुन्छ | समस्या ब्याट्रीमा हैन, टर्चमै रहेको छ | टर्च निर्माणमै दोष रहेको छ | अनि त संविधान घोषणाको भोलीपल्ट नै संसोधन दर्ता गर्नु परेको थियो | यो टर्चको प्रकाशले सिंगै मुलुक प्रकाशित हुन् नसकेकै हो | एउटै देश आधा झम्मक उज्यालोले सजेको छ, अनि आधा देश अंधकारमय छ !

राजतन्त्र फालेको ६२-६३को जन-आन्दोलन, गणतन्त्र स्थापित गरेको माओवादी जनयुद्ध र संघीयता सुनिश्चित गरेको मधेशआन्दोलन मध्ये संविधानको प्रस्तावनामा मधेश आन्दोलन मात्र कसरि/किन अटाएन ? अन्तरिम संविधान भन्दा पनि पछाडि फर्किनुपर्ने के कारण थियो ? लोकतन्त्रको मूल मानिने समावेशिताको सिद्धान्तमा कसरि चुक भयो ? प्रादेशिक स्वायत्ता र वैज्ञानिक सीमांकनमा कसरी झेल्ली भयो ? बिगतका सहमति-सम्झौताहरु एवम जनादेशद्वारा निर्देशित मुद्दाहरुबाट पछाडि हट्नुपर्ने के कारण थियो ? यो संविधान केवल खस आर्यहरुको लागि बनाइएको सन्देश दिने गरि राज्य सत्तामा हालीमुहाली रहेको एक जाती विशेषको परिभाषा मात्र किन उल्लेख गर्नु पर्यो ?   सकारात्मक विभेद मार्फत राज्यको संरचनामा पछाडि छुटेका समुदायलाई समावेश गर्न हेतु अपनाइएको आरक्षणमा एकछत्र हावी रहेको समुदायलाई कसरी घुसाइयो ? श्रीमती विद्या देवी भण्डारी राष्ट्रपति हुनसक्ने तर द्वन्दमा पति गुमाएकी मुलुकको एउटा प्रमुख दलको पदाधिकारी रहेकी सीता देवी यादबलाई राष्ट्रियताको कुन परिभाषाले राष्ट्रपति हुनबाट वन्चित राख्दछ ?

आन्दोलनले जो सवाल खडा गरेको थियो त्यो अहिले सम्म अनुत्तरित नै रहेको छ | मुखावटी रुपमा पटकपटक सत्ता पक्षले मागको सम्बोधन सकारेको पनि छ | तर व्यवहारमा इमान्दारिता देखिदैन | किनभने खोट नियतमा छ | खोट विचारधारामा छ |

संविधान दिवस मनाउने एउटा पनि आधार अहिले सम्म राज्यले मुहैया गराएको छैन | आन्दोलनको माग सम्बोधन गर्नु त परको कुरा हो | राज्यसँग अपनत्व महसुस हुनलाई तत्कालको लागी गर्न सकिने कामहरु सरकारबाट नभएको अवस्थामा संविधान दिवसको उत्सवमा सामेल हुनु भनेको ‘बिन बुलाए मेहमान’ हुनु सरि हो |  द्वन्द्वको घाउ कहिले नपुरिने घाउ हुन्छ | तर, न्याय मार्फत मल्हम भने अवश्य लगाउन सकिन्छ | मधेसआन्दोलनको घटनाहरु छानबिन गर्न सरकार आफैले गठन गरेको छानबिन समिति(लाल आयोग)को रिपोर्ट सार्वजनिक समेत गरेको छैन | यो रिपोर्ट सार्वजनिक गरेर कार्यान्वयनमा लिएर जादा केहि मात्रामा भए पनि ध्रुवीकरणको खाडल पुरिने थियो | राज्य माथिको अविश्वासमा कमि आउने थियो | तर, राज्यको प्राथमिकतामा मधेसीलाई मुलधारमा समाहित गर्ने मुद्दा अहिलेसम्म परेको छैन |

फेरी प्र. म. ज्यू -मुलुकमा विकासको लाल झण्डा फहराउने बेला के कालो झण्डाको कुरा गरेको ! महाशय, अँध्यारोमा लाल झण्डा पनि कालो देखिन्छ | बेलैमा टर्चको समस्या समाधान गरेर मुलुक भरि उज्यालो प्रकाशित गरियोस | मधेश अग्रपंक्तिमा देखिनेछ |

थोक गुमाई सके पछि खुद्राको लागि ‘छिनाझपटी’ हुनु स्वाभाविक हुन् जान्छ | मधेस आन्दोलनको नेतृत्वको आलोचनामा जति पनि शब्दहरु खर्च गर्न सकिन्छ | एकजना नेतृत्वकर्ता संसोधनको सिढी चढेर सत्तामा पुगेका छन्  भने अर्को ती सरकारको समर्थन गरेर निरिह झैँ रहेका छन् | आन्दोलनकारी हुदाँ ताका पुर्नलेखनको माग सत्ताधारी भएपछि बगरको वालुवा भएका छन् | अर्कोतिर समर्थन गरेर बसेकाहरु आफ्नै पार्टीको भारी मतले जितेर आएका एकजना सांसदको सपथ र आन्दोलनको मुद्दा फिर्ता गर्नलाई भनी आग्रह लिएर वालुवाटार जाँदा ओलीजीको चौध वर्षे जेल बसाइको गाथा सुनेर फर्किनु पर्ने गरि लाचार छन् | आफ्नै विवशताले झाँगिएका छन् |

यी नेतृत्व पंक्तिलाई असोज तीन कालो दिवस मनाउने नैतिक आधार पक्कै छैन | तर, यहाँ समझिराख्नु पर्छ, यी दलहरु सर्वश्व दाउमा लगाएर आन्दोलनलाई आफ्नो रगत र पसिनाले सिचेका ठुलो कार्यकर्ताको जमातले भरिएको छ | राजनीतिक एवंम् सामाजिक सुरक्षाको कारणले खुलेर आउन नसकेपनि उनीहरु सबैका लागि यथास्थितिमा असोज तीन कालो दिन रहिरहने छ |

मधेसको लागि असोज तीन आफ्नै अस्तित्वमा झाकेर हेर्ने दिन पनि हो | मधेशवादले एकताका सुत्रमा बाधेका मधेसी कसरी आन्दोलनको पराजय सँगै जातिवादको चुंगुलमा फस्दै गएका छन् | नियालेर हेर्ने मौका हो | जे शक्तिको आधारमा एक दशकमै तीन तीन वटा बेनजिर आन्दोलनहरु गर्न सके ती शक्तिलाई सम्झिने दिन पनि हो |

हालकै राजनीतिक दलहरु मध्ये बाट होस वा बाहिर बाट मुद्दा यथावत रहेको अवस्थामा मधेसको राजनीतिमा अब नयाँ नेतृत्वको उदय अस्वयम्भावी हुन् गएको छ |

अन्त्यमा,  मार्टिन लुथर किंग जुनियरलाई सम्झिन चाहन्छु | इतिहासबाट आफ्नो सिकाइबारे उनी भन्छन् – केवल क्रोधित हुनु काफी हैन | महान कार्यको लागि व्यवस्थित हुनुपर्छ, एकत्रित हुनु पर्छ ताकी क्रोध एउटा परिवर्तनशील शक्तिको रुपमा रुपान्तरण हुनसकोस | साथै, अहिंसामाथि चर्चा गर्दै गान्धीले भनेका थिए – क्रोधलाई नियन्त्रित शक्तिमा प्रसारण गर्न सकिन्छ, जसले दुनिया हल्लाउने क्षमता राख्दछ |

मानिसहरु प्राय: सोच्ने गर्छन् क्रोध स्वचालित रुपमा हिंसाको मार्ग अख्तियार गर्छ | तर, मार्टिन र गान्धीको लागि क्रोध र अहिंसा समानान्तर रुपमा रह्यो | किनभने अहिंसाको रथलाई अगाडी बधाई राख्न  क्रोधको जुनून अतिआवश्यक हुन्छ |

आन्दोलनकारीहरुको लागि पूर्ण विकसित मनोविज्ञानले न केवल राजनीतिक गतिविधि र क्रोधलाई सम्बोधन गर्न सक्नुपर्छ बल्कि लामो समयसम्म लडाई जारी राख्नको लागि मनोविज्ञानिक ‘बर्नआउट’ हुनबाट जोगिन सम्बद्द्ता र नेतृत्व कौशलको मुजाहिरा पनि गर्न सक्नुपर्छ |   

सम्मान, अहिंसा र देशप्रेमको यहि राजनीतिले मधेसीको भावी सन्ततिलाई नेपालमा शिर उठाएर बस्न सक्ने वातावरणको निर्माण गर्दै जानेछ  |

संविधान दिवसको शुभकामना ! तर, हामीसंग उत्सव मनाउने कुनै ठोस कारण छैन, उत्सव मनाउने प्रति हाम्रो इर्ष्या पनि कदापी छैन। दु;ख त कहाँ लाग्छ भने हामी पनि यसको हिस्सेदार हुनसक्थ्यौ। कुनै चाडपर्वको दिन यदि घर परिवारको कोइ बिते भने पुस्तौसम्म त्यो दिन पुजापाठ नगरिने हाम्रो संस्कृति छ | वर्खीमा शोक मनाइन्छ, दिवस हैन |

मधेसको मुद्दा, मधेसीको आत्मसम्मान र सहिदहरु प्रतिको  उतरदायित्व वहन गर्दै हामी असोज ३ गतेलाई कालो दिवसको रूपमा  लिदै ब्लैक आउट गर्छौ |

प्रतिक्रिया दिनुहोस्