Logo

विश्व टी–ट्वान्टी एसिया छनोटः नेपालद्वारा चीन १० विकेटले पराजित



काठमाडौंः आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको हो ।

नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदिप ऐरीले पनि अविजित ४ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन जोडेको थियो । चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।

नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३-३ विकेट लिए ।

एसिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

जितसँगै छनोटमा नेपाल ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । नेपालको अन्तिम प्रतिद्वन्द्वी सिंगापुर ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्