Logo

आज वामपन्थी नेता तुलाधरको अन्त्येष्टि



काठमाडौँ, १९ कार्तिक । आइतबार निधन भएका वामपन्थी तथा मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको साेमबार (आज) अन्त्येष्टि हुने भएको छ।

लाजिम्पाटस्थित उनको निवासबाट कमलाक्षी, असन, बांगेमुढा, क्षेत्रपाटी हुँदै शोभाभगवतीसम्म शवयात्रा गर्ने र त्यसपछि दिउँसो शोभाभगवतीको कर्णदीपमा अन्तिम संस्कार गरिनेछ। शवयात्राअघि अन्तिम श्रद्धाञ्जलीका लागि शव निवासमै राखिएको छ।

रगतको नसा बन्द भई छातीमा इन्फेक्सन देखिएका उनी केही दिनदेखि अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा आइतबार  ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो। सुरुमा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएका उनलाई पछि नर्भिक अस्पतालमामा रिफर गरिएको थियो।

नेपाल भाषा मंकाः खलः को अध्यक्ष बनेर उनले भाषिक आन्दोलन सुरु गरेका थिए।  पछिल्लो समय उनी पहिचानवादी नेताको रुपमा चिनिन्थे। २०४२ मा तुलाधर तत्कालीन नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठेका थिए। त्यस्तै, बहुदल आएपछि पनि दुई पटक एमालेका तर्फबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका थिए।

तुलाधर मनमोहन अधिकारीको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए। तुलाधरले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका पनि खेलेका थिए।

तुलाधरका श्रीमती, दुई छोरी र दुई छोरा छन्।

प्रतिक्रिया दिनुहोस्