Logo

राजपाका महासचिव बिनोद सिंहमाथि भ्रष्टाचारको गम्भीर आरोपः सरकारी सेवामा रहँदा अकुत सम्पती कमाएको आरोप



काठमाडौं– वन मन्त्रालय अन्तर्गत रोजगारीमा रहेका एक सहायक अधिकृतले अवकाश प्राप्त गर्दासम्मको अवधिमा कति रकम आर्जन गर्न सक्ला? यसको अनुमान लगाउन कठिन छैन। निजामती सेवाको राजपत्र तृतिय श्रेणीको अधिकृतको तलब हालको स्केलमा भत्तासहित ३२ हजार पुग्ने देखिन्छ। अवकाश पाउँदाको अवधिसम्म उसले आर्जन गरेको सम्पत्ति हिसाब गर्दा बचतको रुपमा केही लाख रुपैयाँ हुन सक्ला।

तर, वन अधिकृतको रुपमा कार्यरत रहेका एक कर्मचारीले करिब २ करोड रकम अवैधानिक रुपमा आर्जन गरेको पाइएको छ। यही बीचमा उनले ३ करोड रुपैयाँ अवैधानिक रुपमा कमाएको रकम खर्च गरेको र त्यसको स्रोत खुल्न समेत नसकको अनुसन्धानबाट भेटिएको छ।

यसरी २ करोड अकुत सम्पत्ति आर्जन गर्न अवकाश प्राप्त सहायक वन अधिकृत हुन्, विनोद कुमार सिंह।

वन मन्त्रालयका आकर्षक स्थानहरुमा जागिरमा बसेका सिंहले अकुत सम्पत्ति आर्जन गरेको रहस्य उनले अवकाश पाएपछि मात्र खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिंह विरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि खोजी गर्दा यो रहस्य खुलेको हो।

अख्तियारले सिंहले पदमा रहँदा विभिन्न गैरकानुनी कार्यबाट रकम आर्जन गरी लुकाएको भेटेपछि सोमबार विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ।

अख्तियारले सिंहसँग एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको दाबी गरेको छ।

सिंह २०४३ सालमा निजामती सेवामा भर्ना भएका थिए।  अख्तियारले हाल उनीसँग रहेको सम्पत्ति हेर्दा उक्त रकमको स्रोत पुष्टि हुन नसकेको हो।

यो अवधिमा तीन करोड ५१ लख ८२ हजार ६ सय ४४ रुपैयाँ खर्च गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ। खर्च भइसकेको रकम समेत अवैधानिक स्रोत हुन सक्ने तर त्यसलाई पुष्टि गर्न नसकेपछि अख्तियारले आरोपपत्रमा दाबी गरेको छैन।

फोटो निजको फेसबुकबाट साभार

आम्दानी  डेढ करोड, खर्च साढे ३ करोड

अख्तियारले अनुसन्धानमा अर्को चाखलाग्दो तथ्य समेत फेला पारेको छ। निजामती सेवामा प्रवेश भएपछि हालसम्म डेढ करोड आम्दानी गरेको सिंहको परिवारले खर्च भने साढे ३ करोडभन्दा धेरै गरेको देखिएको छ।

सिंहले २०४३ फागुन १३ गतेदेखि जाँच अवधिमा १ करोड ६० लाख २१ हजार ८ आय आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

सिंहले परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा,बैंक मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी आम्दानीको तेब्बर अर्थात् ३ करोड ५१ लाख ८२ हजार ६ सय ४४  खर्च गरेको विवरण अख्तियारले अनुसन्धान गर्दा फेला पारेको छ। यसरी हेर्दा करिव २ करोड रुपैया सिंहले गैरकानुनी आर्जन गरेको देखिएको छ । यसरी सम्पत्तिको स्रोत नखुलेको पाइएपछि सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको भन्दै उनको परिवारको नाममा रहेको सम्पत्ति समेत जफत हुनुपर्ने अख्तियारको दाबी छ।

अख्तियारको छानबिनपछि राजिनामा 

सिंहले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारमा उजुरी दायर हुने समयसम्म उनी वन अधिकृतको रुपमा कार्यरत रहेका थिए। जब अख्तियारले बयानका लागि बोलायो, उनले पदबाट राजीनामा दिए। २०७४ सालमा उनले अवकाश पाउने केही वर्ष बाँकी हुदै पदबाट राजिनामा दिए।

अख्तियारले पदमा रहँदै भ्रष्टाचारको मुद्दा हाल्ने चाल पाएपछि उनले पद त्यागेका थिए। सिंहले गत वर्ष राजीनामा दिएका थिए।

राष्ट्रसेवक भए पश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी साबिक भ्रष्टाचार निवारण ऐन विपरितको कार्य गरेको भन्दै अख्तियारले १० वर्ष कैद सजाय हुनुपर्ने दाबी गरेको छ।

अख्तियारले सिंहसँग अकुत सम्पत्ति आर्जन गरे बराबरको जरिवाना र बिगो समेत असुल हुनुपर्ने दाबी गरेको छ।

आयोगले उनकी श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहविरुद्ध पनि मुद्दा दायर गरेको छ। अकुत सम्पत्ति श्रीमती र छोराको नाममा रहेको भन्दै मुद्दा दायर गरेको हो। साभारः नेपाल लाइभबाट

प्रतिक्रिया दिनुहोस्