Logo

यमपञ्चकको आज चौथो दिनः गोबर्धन, गाई र गोरुको पूजा गरिँदै



काठमाडौंः यमपञ्चकको चौथो दिन गाई, गोबर्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ ।

आज हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोबर्धन पूजा गर्दछन् । कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।

पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।

। आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

स्थानीय गाईको दूध बालकदेखि वृद्धसम्मका लागि उपयोगी मानिन्छ। दूधबाट बन्ने दही र घ्यु पनि पोषिला हुन्छन् । गोबर र गहुँतमा असाध्य रोग निको हुने अौषधीय गुण हुने बताइन्छ । गाईलाई सनातन वैदिक समाजमा लक्ष्मीकै स्वरूप मानी पूजा गर्ने चलन छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । गाई, गोरुको पूजा गरी अनुकुलको पदार्थ खुवाउने र खुल्ला छोडिदिने चलन छ । लक्ष्मीको स्वरूप औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा उपयुक्त हुने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।

यसैगरी नेवार समुदायले आज आफ्नो शरीरलाई पुजा गरी म्हपुजा मनाउँदै छन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ ।

आजै साँझ पुरुषहरुले देउसी खेल्ने चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्