Logo

फोरमले सरकारको समीक्षा गर्ने, सरकार छोड्नु पर्ने अधिकांस सदस्यको जोड



उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारको समीक्षा गर्ने भएको छ । सरकार विवादमा आइरहेका वेला सहयात्री दल फोरमले समीक्षा गर्न लागेको हो । पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूले गरेको कामको समीक्षासहित समग्र सरकारको समीक्षा गर्न लागेको फोरमले जनाएको छ । नेकपा भने अहिलेसम्म सरकारको समीक्षा गरेको छैन ।

बिहीबारबाट सुरु हुने फोरमको राजनीतिक समितिको बैठकमा समसायमिक राजनीतिक विश्लेषणसहित सरकारको समीक्षा गर्ने एजेन्डा तय भएको फोरमका नेताहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार राजनीतिक समितिले २२ मंसिरबाट बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि तय गर्नेछ । ‘समसामयिक राजनीतिक विश्लेषण, सरकारको समीक्षा र महाधिवेशनको तयारीबारे छलफल गर्ने एजेन्डा तय भएको छ’ फोरमका राजनीतिक समिति सदस्य डा. शिवजी राय यादवले भने ।

रेणुको मुद्दा के हुन्छ ?

केन्द्रीय उपाध्यक्ष रेणु यादवले पार्टी नीतिविपरीत काम गरेको भन्दै केही समयअघि पार्टीमा विरोध भएको थियो । रेणुले संविधान दिवस (३ असोज)लाई कालो दिनका रूपमा मनाउने निर्णय गरेर प्रदेश २ मा आन्दोलन गराएकी थिइन् । महासचिव रामसहाय यादवले त्यही मुद्दामा टेकेर कारबाहीको माग गरेका थिए । फोरम स्रोतका अनुसार रेणुले केन्द्रीय उपाध्यक्ष, प्रदेश २ समितिको अध्यक्ष र प्रदेश २ को इन्चार्ज गरी तीनवटा पद लिएको भन्दै विरोधसमेत भइरहेको छ । पार्टीमा विरोध भएपछि रेणुले राजनीतिक समितिको अघिल्लो बैठकमा राजीनामा दिएकी थिइन् । तर, राजीनामा स्वीकृत भएन । रेणुको विवाद भनेझैँ सेलाएको छैन । फोरम स्रोतका अनुसार रेणुलाई कारबाही गर्ने विषय राजनीतिक समितिभन्दा केन्द्रीय समिति बैठकमा उठ्नेछ ।

महाधिवेशन  सर्ने सम्भावना

फोरमले माघको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म महाधिवेशनको तयारी भएको छैन । जिल्ला अधिवेशन पनि भएको छैन । डा. यादवले तयारी सुस्त भएको उल्लेख गर्दै माघ अन्तिम साताभित्र महाधिवेशन कसरी गर्ने भन्नेबारेमा छलफल हुने बताए । यादवले थप बताउन नचाहे पनि माघ अन्तिम सातामा भने महाधिवेशन हुन सक्ने सम्भावना छैन । वडादेखि जिल्लासम्मका अधिवेशन गर्नेबारेमा अहिलेसम्म तयारी नै नभएकाले महाधिवेशन सर्ने सम्भावना देखिएको हो । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्