Logo

ललितपुर बन्यो इपिएल-2018 को च्याम्पियन:उपाधिसँगै २५ लाख रुपैयाँ जिते



काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रिओट्सले जितेको छ। शनिबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा तेस्रो संस्करणको उपाधि जित्ने क्रममा ललितपुरले दोस्रो संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गरेको हो।

उपाधिसँगै ललितपुरले २५ लाख रुपैयाँ जितेको छ। उपविजेतामा सीमित भैरहवाले १० लाख रुपैयाँमा चित्त बुझायो।

ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन जोड्यो।

अन्तिम ओभरमा भैरहवालाई जितका लागि १७ रन आवश्यक जियो। ब्याटिङमा रोहितकुमार पौडेल र कुशल मल्ल थिए। बलिङमा ललितपुरका योगेन्द्रसिंक कार्की आएका थिए। योगेन्द्रले पहिलो बलमै रोहितलाई ७ रनमा क्याच गराउदै पेभिलियनको बाटो देखाए। दोस्रो बलमा कुलशले १ रन मात्र लिन सके। तेस्रो बलमा भुवन कार्कीले बललाई ब्याटसँग कनेक्ट गर्न सकेनन्। बलिङ गर्दागर्दै कुदेका कुलश मल्ल १६ रनमा रनआउटको सिकार भए। चौथो बलमा २ रन लिने क्रममा भुवन कार्की रनआउटको सिकार बनेपछि खेल ललितपुरको पक्षमा पुगेको थियो। अन्तिम २ बलमा भैरहवाले कुनै रन जोड्न सकेनन्।

भैरहवाका ओपनर प्रदीप ऐरीले ३१ रन जोडे। उनले २२ बलमा ४ चौका र १ छक्का हिर्काए।    त्यसअघि अर्का ओपनर रायन टेन डोकास्टे १० बलमा १४ रन जोडेर आउट भए।

रवि इन्दर सिंहले २९ रनको योगदान गरे। पवन सराफको बलमा क्याच हुनुअघि उनले ३२ बलमा १ चौका र १ छक्का हिर्काए। यस्तै आरिफ शेख १२ रनमा आउट भए। १७औं ओभरमा कप्तान भेषवाकर १४ रनमा ललितनारायण राजवंशीको बलमा बोल्ड भए। उनले १२ बल खेल्दा १ छक्का हिर्काए। २ बलपछि मोहमद नाबीद १० रनमा आउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।

बलिङमा ललितपुरका ललितनारायण राजवंशीले ३ विकेट लिए। उनले ४ ओभरमा १७ रन मात्र खर्चिए। पवन सराफले २ विकेट लिए। उनले २६ रन खर्चिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर १९.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो।

ललितपुरका लागि ओपनर जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरे। उनले भैरहवाका कृष्ण कार्कीबाट बोल्ड हुनुअघि ५२ बलमा समान ३-३ चौका र छक्का प्रहार गरे। अर्का ओपनर गौरव तोमारले २३ रन जोडे। उनले १९ बलमा ३ चौका र १ छक्का हिर्काए। कोल्सावाला  र तोमारबीच पहिलो विकेटका लागि ५.१ ओभरमा ४१ रनको साझेदारी भयो।

कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा पवन सराफ ५ रनमा रनआउटको सिकार बने। सन्दीप जोराले ११ बलमा २४ रनको योगदान गरे। उनले १ चौका र २ छक्का हिर्काए।

सनी पटेल १ रन, कुलश भर्तेल ११ रन, सोनु तामाङ ३ रनमा आउट भए  भने रासिद खान र ललितनारायण राजवंशीले खाता नै खोल्न सकेनन्।

बलिङमा भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए। उनले २ ओभर बलिङ गर्दा १५ रन खर्चिए। रायन टेन डोकास्टे र मोहमद नाबीदले २-२ विकेट लिए। शरद भेषवाकर र भुवन कार्कीको नाममा १-१ विकेट रह्यो।

भैरहवाका रवि इन्दर सिंह प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै बाइक जित्न सफल भए। उनले प्रतियोगितामा एक सतक सहित सर्वाधिक रन जोडेका थिए।

 

प्रतिक्रिया दिनुहोस्