Logo

युपी मुख्यमन्त्री योगी र नेपाल उद्योग बाणिज्य संघको टोलीबीच भेटः सिमानाकामा आफैं अनुगमन गर्ने योगीको आवश्वासन



काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलाइ कम गर्न आफ्नो सरकारले काम थालेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधि मण्डलसँग सोमवार साँझ मुख्यमन्त्री कार्यालय लखनउमा भेट गर्दै उत्तर प्रदेश र नेपालबीचका सीमानाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उनले बताए । हालै मात्र उनले त्यसका लागि आवश्यक निर्देशन समेत दिइसकेका छन् । भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गर्नेछु ।

नेपाल–भारतबीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक छ,’ नेपाली प्रतिनिधिमण्डले राखेका समस्याको जवाफ दिदैं मुख्यमन्त्री योगीले भने । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडी १० मिनेटभन्दा बढी रोकिन नहुने उनको भनाइ थियो । साथै, गौरीफण्टा र अलिगढवा सीमानाकाको स्तरोन्नतिमा पनि उत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उनले बताए ।

नेपालको पर्यटन विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउँदै योगीले नेपालगञ्ज—कैलाशतीर्थ यात्राको विकासका लागि आवश्यक सहयोग गर्ने वचन दिए । ‘नेपालगञ्ज—कैलाशमार्ग बलियो बनाउनुस् । आवश्यक सहयोग गर्न हामी तयार छौं,’ उनले भने । त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पुर्याउनका लागि आवश्यक प्रवद्र्धन गर्ने वचन दिंदै योगीले आगामी सिजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्ता समेत स्वीकार गरे । नेपाल र भारतवीचको व्यावसायिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन प्रतिनिधिमण्डलको आदानप्रदानलाई अझ घनीभूतरुपमा अगाडि बढाउनु आवश्यक रहेको उनले बताए ।

एफएनसीसीआई अध्यक्ष राणाले दुई मुुलुकबीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उसको साथ खोजेको बताइन् । ‘नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजीकबाट जोडिएको छ । त्यसैले दुई मुलुकवीचमा व्यापार मात्र नभई पर्यटनका क्षेत्रमा पनि सहयोग आदानप्रदान हुन आवश्यक छ । खासगरी नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा हामी उत्तर प्रदेश सरकारको सहयोग अपेक्षा गरेका छौं,’अध्यक्ष राणाले भनिन् । नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमाआउन र नेपालमालगानी गर्न पनि राणाले आह्वान गरिन् । दुई मुलुकवीच पर्याप्त मात्रामा प्रशारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्य जस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस्