Logo

पहाडी मारिँदा मिडियामा कोलाहल, मधेशी र थारु मारिँदा किन चुपचाप ?



राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई । अनि केपी ओलीले भारतीय विस्तारवाद र मधेसीलाई सत्रु बनाए ।

नष्लमा आधारित राष्ट्रवादले वर्ण, भाषा, धर्म, भूगोलका आधारमा कसैलाई श्रेष्ठ मान्छ कसैलाई तुच्छ । नेपालमा ओलीको राष्ट्रवादले खस आर्य, पहाडवासी, हिन्दू धर्म मान्नेलाई श्रेष्ठ मान्छ । मधेसी थारु र महिलालाई तुच्छ मान्छ । यो राष्ट्रवादले अखन्ड नेपालको कुरा गर्छ । तर, सारमा बिखन्डनकारी छ । यसले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ ।

संविधान निर्माण प्रक्रियाको चर्चा गरौं । संविधान कसरी बन्यो ? एउटा जात वा नश्लले अर्को समुदायमाथि हिंसा थोपर्दै, मान्छे मार्दै, रगतको खोलो बगाउँदै संविधान बनाएको होइन ? अन्तरिम संविधानको विधी–प्रक्रिया उल्लंघन गरेर फास्ट ट्रयाक भन्दै ज्यादतिको बीचमा संविधान बनाइएको होइन ? टिकापुर घटना घट्यो । टिकापुरको त्यो भूगोलमा अखण्डको नारा थियो । एउटा नश्लले अखण्डको नारा लगायो । त्यो पृष्ठभूमिमा टिकापुरमा हिंसा भयो र केही प्रहरी अफिसर, एक बालक मारिए । उनीहरु सबै पहाडी थिए । त्यसपछि थारु समुदायमाथि राज्यले जघन्य हिंसा थोर्पयो । पसल लुटिए । घरमा आगो लगाइयो । महिलाहरुमाथि दमन भयो ।

पहाडी मारिँदा मिडियामा कोलाहल मच्चियो किनकी तिनीहरु श्रेष्ठ थिए । हाम्रो सम्पूर्ण मिडियाको निम्ति ठूलो समाचार बन्यो । तर, थारुहरुमाथि थोपरिएको हिंसाको कहिँ पनि चर्चा भएन । किनकी उनीहरु खस आर्य थिएनन्, नेपाली भाषी थिएनन् ।

मधेसको कुरा गरौं । संविधान निर्माण भइरहेका बेलामा मधेसका केही असहमति थिए । अन्तरिम संविधानका स्थापित मानक पूरा गर्नुपर्ने आग्रह थियो । तर,गरियो के भने एउटा नश्लले, एउटा समुदायले संविधान निर्माण र्गयो । मधेसलाई बाहिर राखियो । संविधान निर्माण प्रक्रियामै संलग्न गराइएन । मधेसी नागरिक मारिए । झण्डै ६० जना मधेसीको लाशमा टेकेर रक्तरञ्जित संविधान निर्माण गरियो । झण्डै देशको आधा जनसंख्यामाथि जघन्य हिंसा थोपरेर संवपवधान बनाइयो । यो विसुद्ध नश्लवादी छ ।

राष्ट्रवाद अतितमुखी हुन्छ । यसले भविष्यको कुरा गर्दै । यसमा अतितका मूल्यहरुको गौरवगान गरिन्छ । पृथ्वीनारायणले केही भूगोलका टुक्रा जोडेपछि ‘असली हिन्दूस्ताना’ को नारा अलापियो । हिन्दूत्वलाई राज्यको धर्म र पहिचान बनाइयो । ‘हाम्रा साना दुखले आज्र्याको मुलुक होइन’ भनेर पृथ्वीनारायणले भने । तर राज्य कसले बनायो ? क पृथ्वीनारायणले गोर्खादेखि जंगल फाँड्दै आवादी गरेका हुन् ? हाम्रा बाँकी पुर्खा जुम्रा मारिरहेका थिए ? मदिरा पान गरेर लठ्ठीएका थिए ? वा कुम्भकर्णजस्तो ६ महिने निद्रामा थिए ?

मधेस आवाद गरेको पहाडीले हो ? होइन मधेसीले हो । आदिवासी भन्न लायकको थारु समुदाय नै हो । नेपालको ईतिहास, सभ्यता, संस्कृतिको निर्माणमा तीनको पनि योगदान छ । तर, यो सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, धर्मलाई श्रेष्ठ मानियो, बाँकीलाई डाँडा कटाइयो ।

राष्ट्रवादले भन्छ, ‘साम्राज्य दुई हारे हारेन सान हाम्रो’ । कुन–कुन साम्राज्य कसरी हारे ? तपाईंको सान कसरी हारेन ? काल्पनिक श्रेष्ठता स्थापित गर्न केही यस्ता चिज बनाइए । केही मिथक बनाइए ।

फेरि संविधानकै कुरा । जुनबेला संविधान निर्माण भइरहेको थियो, मधेस आन्दोलन र टिकापुर घटना भइरहेको थियो, बिडम्बना सिंगो मिडिया सत्तामा विलय भएका थिए । मिडिया नै भयानक राष्ट्रवादी भएको थियो । राष्ट्रवादी नायकहरुको रचना आधारभूतरुपमा मिडियोले गरेको हो । टनकपुरमा पहाडी मारिए, तीनको श्रेष्ठताको गाथा गाइयो । थारुहरुमाथिको दमनको चर्चा भएन । मधेसमा त्यति धेरै मानिसहरु मारिँदा मिडियाले आपत्ति गरेनन् । मानौं संविधान निर्माण प्रक्रियामा मधेसी मारिनु गौरवको, पौरखको विषय हो ।

सनातनी दृष्टिकोणबाट यो देश खस आर्यले बनाएका हुन् । लामो समयदेखि सत्तामा खस आर्य थिए । अख्तियारमा, साधन–स्रोतमा, परम्परागत शक्तिमा, राज्यका यावत उपकरणमा तीनको एकलौटि वर्चश्व थियो । अहिलेसम्म मधेसमाथि विदेशी जस्तो व्यवहार गरिन्छ । मेरो बाल्यकालमा महेन्द्रीय शासनको जगजगी थियो । त्यही शासनमा पढेँ । पढाएँ । कम्युनिष्ट आन्दोलनले पनि त्यही कुरा सिकाएका थिए । हामी वीर पृथ्वीनारायणका सन्तान भनेर । मधेसी कायर हुन् भनेर ।

६० जना मानिस मारिँदा मिडियाले मान्छे मरेको कल्पना गरेन । कोही विदेशको दलाल मरो भन्ने भयो । मधेसको भूमि बिदेशीलाई बुझाउने पात्र मरो भन्ने भयो । त्यो अपराधको बीचमा संविधान बनाइयो । एक किसिमले यो संविधान एउटा अपराधिक दस्तावेज हो । राष्ट्रवादले संघीयताको सारतत्व झिकिदियो ।

राष्ट्रवादले विभेद गर्छ । कसैले कसैमाथि विभेद, घृणा नगरिकन राष्टवाद बन्दैन । यसमा अखन्ड नेपालको कुरा गरिन्छ । यसका निम्ति थारुमाथि हिंसा थोपरियो । मधेसीमाथि हिंसा थोपरियो । परिणाम यो चिन्तनले यो संविधानले नेपाललाई खन्डित र्गयो । संविधानले विखण्डनतिर लगिरहेको छ ।

शीतलनिवासमा अहिले कम्युनिष्ट पार्टीको सदस्यले राज गर्नुभएको छ । राजतन्त्रका राजाभन्दा राष्ट्रपति केही फरक छैन । धर्म्निरपेक्ष देशमा राष्ट्रपति हिन्दू चाडपर्वमा मन्दिरको दर्शन गर्दै हिँड्छिन् । के यही हो धर्म्निरपेक्षता ? मेरा नेता पुष्पकमल दाहाल थिए । निर्वाचनमा उनलाई जिताउन सडकमा हिँडेको थिएँ । तर, तीनै पुष्पकल ओलीमा विलय भए ।

राष्टवाद गणतन्त्रविरोधी, नश्लवादी, समाजवादविरोधी, असमावेशी छ । त्यसैले माफ गर्नुहोला म चाहिँ राष्ट्रवादी होइन ।

(‘यसकारण म राष्ट्रवादी होइन्’ शीर्षकमा खगेन्द्र संग्रौलाले मंगलबार पोखरामा लिटिरेचर फेष्टिवलमा दिएको मन्तव्यको सम्पादित अंश प्रस्तुत गरेका हौं । )

प्रतिक्रिया दिनुहोस्